उद्धवगोपालश्रेष्ठ
(रङ्गेली, सिक्किम, भारत)
भयातुर मुटुले प्रेमको
नसा लुछिसक्यो
भिसुभियस नै सल्बलाएको
छातीभित्रबाट
उच्छवासको धमनी विस्फोट भइसक्यो
प्रिय बेज्जियो!
तिम्रो पाइलामा नाचेर
बलको शैलीहरुसँग
हुर्केको चउर र टापुहरुले
जुन लयको सौन्दर्य पाइरह्यो
एक्कासि
आज स्तब्ध छ
तिम्रो पाइलामा सायद
बाह्र बजे मध्यरातको
शून्य घडीझैँ निस्तब्ध पल छ
ग्रेटवालबाट हुर्रिएर सुनामीजस्तो
आयातित महामारीले
तिम्रो चउरको गोलपोस्टभित्र
छक्याएर पेनाल्टी गोल गरिसक्यो
र,
एकै पिँढीका बुढा आँखाहरु
अर्को बेज्जियो
देख्नै नपाई
आत्मदाहको सिकार भइसक्यो
सन्नाटाले लम्पसार
यस बेला तिमी
पङ्क्तिबद्धकफनहरुको अघिपछि
मौन पदचापमा कैद होला
असह्य वेदनाले सास
तीव्र फेर्दै होला
यसघडी
कञ्चनजङ्घाको फेदबाट
गुफाजस्तो
शून्य भित्तामा अडेसिएर
म पनिसमवेदनाको
सन्त्रस्त बुके
तिम्रो भग्न चउर र टापुमा
पठाउन आतुर छु बेज्जियो!
आकाश भएर उड्ने कुनै जहाज
यस क्षण मसित छैन
समुद्र भएर पौडिने
कुनै डुङ्गा पनि मसित रहेन
हरपल, अहिले त केवल
लकडाउनको भेन्टिलेटर छ
बस् प्रिय बेज्जियो
बाँकी पिँढीको ढुकढुकीसँग
आश्वस्तआयुको मुस्कानमा
मुसोलिनीको प्रेतछाया नपरोस्
धैर्यको तिम्रो छाती छेडेर
अर्को गुल्चे गोल नपसोस्
मेरो प्रार्थनाको साइबरबाट
भाइरसको यो अवतार
अविलम्ब विघटन होस्
अन्यमनस्क पीडाहरुको
तुरून्त अवसान होस्।
* बेज्जियो = रोबर्ट बेज्जियो; इटलीका लोकप्रिय फुटबल खेलाडी
(कोरोना भाइरसको सङ्व्रmमणले ग्रस्त इटलीको भयावह स्थितिलाई अनुभूत गरी रचित)