मंसिर ५, काठमाडौं । अग्रज साहित्यकार हेमचन्द्र पोखरेलका साहित्यिक, वैचारिक तथा सिर्जनात्मक रचनाहरू समेटिएको ‘सिर्जनाबागमा हेमचन्द्र पोखरेल’ कृतिसंग्रह सार्वजनिक भएको छ। अग्रज साहित्यकार रमेश खकुरेलको प्रमुख आतिथ्यमा काठमाडौंको कान्तिपथस्थित यल्लो प्यागोडा होटलको सभा हलमा आयोजित विशेष समारोहबीच उक्त कृतिसंग्रह सार्वजनिक गरिएको हो।
कार्यक्रममा अतिथिका रूपमा उपस्थित प्रा. डा. हेमचन्द्र नेपालले सार्वजनिक कृतिसंग्रहमाथि आफ्नो धारणा राख्नुभएको थियो। अर्का वक्ता प्रा. डा. जीवन अधिकारीले पोखरेलका कृतिहरूमा शंकराचार्यका स्तुतिगानदेखि सुशासनका विविध विषयसम्म समेटिएको बताउनुभयो। उहाँले पोखरेलका रचनाले समाजमा व्याप्त भ्रष्टाचार र घूसखोरीको अन्त्य कसरी गर्न सकिन्छ भन्ने विषयमा मार्गदर्शन गर्नुका साथै त्यसका लागि सम्बन्धित पक्षलाई आह्वानसमेत गरेको चर्चा गर्नुभयो।
त्यसैगरी, प्रा. डा. गोविन्दराज भट्टराईले पोखरेलसँगको आफ्नो चिनजान र सम्बन्धका प्रसंगहरू स्मरण गर्दै उहाँका कृतिहरूमा विविध र बृहत् विषयवस्तु समेटिएको चर्चा गर्नुभयो। कार्यक्रममा प्रा. डा. माधवप्रसाद पोखरेल, पुरुषोत्तम सापकोटा, धीरकुमार श्रेष्ठ र भारती गौतमले समेत कृतिसंग्रहको विषयवस्तु तथा स्रष्टा पोखरेलको साहित्यिक योगदानबारे आ–आफ्ना विचार व्यक्त गर्नुभएको थियो। कार्यक्रममा विशेष अतिथिका रूपमा प्रा. डा. दयाराम श्रेष्ठको समेत उपस्थिति रहेको थियो।
धनकुटेली समागम, काठमाडौंको आयोजनामा सम्पन्न कार्यक्रमको सभापतित्व प्रा. नारायण जोशीले गर्नुभएको थियो। कार्यक्रममा धनकुटेली समागमका संयोजक शशिशेखर श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन प्रा. डा. विनोद पोखरेलले गर्नुभएको थियो।
समारोहमा दिवंगत स्रष्टा पोखरेलको तस्बिरमा माल्यार्पण गरी उहाँप्रति श्रद्धा व्यक्त गर्नका साथै उहाँको सम्मानमा एक मिनेट मौनधारणसमेत गरिएको थियो।
सार्वजनिक भएको उक्त कृतिसंग्रहको सम्पादन लेखक तथा साहित्यकारद्वय धीरकुमार श्रेष्ठ र भारती गौतमले गर्नुभएको हो। साहित्यिक तथा वैचारिक विविधता समेटिएको यस कृतिसंग्रहमा कुल १ हजार ४२ पृष्ठ रहेका छन्। कृतिको बजार मूल्य १ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको छ।


