असोज १८, काठमाडौँ । पहिचान पुरस्कार कोषले पहिचान पुरस्कारका लागि उत्कृष्ट ८ पुस्तक छनोट गरेको छ । पहिचान पुरस्कार कोषको बिहीबार बसेको बैठकले २०७९ सालमा प्रकाशित कोषमा दर्ता भएका पुस्तकहरुमध्येबाट उत्कृष्ट ८ पुस्तकहरू छनोट गरेको संस्थापक नरेश काङमाङ राईले प्रेस विज्ञप्तिमार्फत जनाएका छन् ।
सार्वजनिक सूचीअनुसार प्रगति राईको ‘थाङ्ग्रा’, जानुका खतिवडाको ‘आतोओडा’, करुणा राईको ‘रसिया रागः’, मञ्जुल मितेरीको ‘कामी’, प्रकाश गुरागाईंको ‘जक्सन पिपलबोट (नयाँ सडकको कथा)’ छन् ।
यस्तै पराजित पोमुको ‘मद्वारा मेरो निर्माण’, श्रीभक्त खनाल र खेमराज रानाभाटको ‘तीन फरक विषय (फोकल्यान्ड युद्धका सिपाही, पहिलो विश्वयुद्धका चिठी र उनै जङ्गबहादुर’ र डा. नवराज केसी ‘शून्यको मूल्य (सास, साहस र स्नेहको कथा)’ उत्कृष्टको सूचीमा परेको छ ।
गत वर्ष अर्जुनबाबु माबुहाङ र अमित थेबेको ‘सिरिजंगा, फाल्गुनन्द र इमानसिंह चेम्जोङका लेखोट’ र कविता राईले लेखेको उपन्यास ‘गुरु’ लाई पहिचान पुरस्कार दिइएको थियो । त्यस्तै २०७८ सालमा श्याम साहको ‘पथेर’ र अनन्त वाग्लेको ‘कदम’ ले संयुक्त रूपमा पहिचान पुरस्कार प्राप्त गरेका थिए ।
यसअघि राजन मुकारुङको ‘फेरिँदो सौन्दर्य’, अर्जुन खालिङको ‘गोयङको सुगन्ध’, यज्ञशको ‘भुइँया’ र उन्मुक्त पुस्ताको ‘आफर’, सरस्वती प्रतीक्षाको ‘नथिया’ले पहिचान पुरस्कार पाइसकेका छन भने पहिचान सम्मानबाट खगेन्द्र संग्रौलालाई सम्मानित गरिसकेको छ ।
हरेक वर्ष प्रदान गरिँदै आएको पहिचान पुरस्कार राशि ४ लाख २ हजार २ रुपैयाँ रहेको छ । यस वर्ष वैशाखमा पुरस्कार प्रदान गरिने पहिचान पुरस्कार कोषका संस्थापक नरेश काङमाङ राईले जानकारी दिए ।