काठमाडौं, २५ असार । विगत अड्तिस वर्षदेखि अविच्छिन्न मासिक साहित्यिक गोष्ठीको आयोजना गर्दै ४२९ औँ शृङ्खला सम्पन्न गरिसकेको र साहित्यका माध्यमबाट सामाजिक रूपान्तरण अभियान सञ्चालन गरिरहेको साहित्य सन्ध्याले २०४२ सालदेखि राष्ट्रियस्तरमा नेपाली प्रगतिवादी साहित्यमा योगदान गर्ने व्यक्तिलाई ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’द्वारा सम्मानित गर्ने परम्पराको निरन्तरतास्वरूप ६ जना स्रष्टाहरूलाई २०७८ सालको ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’द्वारा सम्मानित गर्ने भएको छ ।
वैचारिक सङ्गठन, समाजसेवा र नेपाली प्रगतिवादी साहित्यमा गर्नुभएको योगदानको लागि श्री रेखा सुवेदीलाई रु। पन्ध्र हजार राशिको २०७८ सालको ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’स साहित्य सन्ध्याले वर्षभरि सम्पन्न गरेका बार्हवटा साहित्यिक गोष्ठीमध्ये दशवटामा प्रत्यक्ष सहभागी भई सिर्जना वाचन गर्नुभएका श्री डम्बर पहाडी र श्री विन्दु अधिकारी ढकाललाई जनही रु। दुई हजार पाँच सय राशिसहित २०७८ सालको ‘साहित्य सन्ध्या सहभागिता पुरस्कार तथा सम्मान’स आशावादी जीवनदृष्टिका साथै आफ्नो भविष्य निर्माणमा आफैँ सङ्घर्षरत रहेकी स्रष्टा श्री निशा रोका मगरलाई उहाँको सक्रिय, आशावादी एवम् सङ्घर्षपूर्ण जीवनयात्रालाई थप प्रोत्साहन गर्न रु। दश हजार राशिको ‘साहित्य सन्ध्या–मन पुरस्कार तथा सम्मान’ र वैचारिक सङ्गठनका माध्यमबाट सामाजिक रूपान्तरणको अभियानमा छ दशकभन्दा लामो समय समर्पण गरी नेतृत्वदायी भूमिकासमेत निर्वाह गरी समाजसेवाका क्षेत्रमा इमान्दार, निष्ठावान् व्यक्तित्वका रूपमा स्थापित श्री नारायणप्रसाद भण्डारीलाई उहाँको अथकित सत्कर्ममय योगदानको उच्च सम्मान गर्दै रु। दश हजार राशिको ‘साहित्य सन्ध्या–कृष्णचन्द्र–बालकुमारी पुरस्कार तथा सम्मान’ द्वारा सम्मानित गरिने भएको छ । यसैगरी, नेपाली साहित्यका कविता, निबन्ध, समालोचना, गीतलगायत विविध विधामा कलम चलाउनुका साथै विभिन्न पत्रपत्रिकामा फुटकररूपमा अविच्छिन्न नियात्रा प्रकाशित साहित्यका माध्यमबाट नेपाली समाजको रूपान्तरण अभियानमा पुर्‍याउनुभएको विशिष्ट योगदानको कदरस्वरूप डा। फणीन्द्रराज निरौलालाई रु। दश हजार राशिको २०७८ सालको ‘साहित्य सन्ध्या–हरिप्रिया–हरिप्रसाद चापागाईँ नियात्रा पुरस्कार तथा सम्मान’ द्वारा सम्मानित गरिने भएको छ ।
उल्लिखित पुरस्कार तथा सम्मानहरू आगामी २०७९ भदौ ४ गते शनिबार प्रदान गरिने कार्यक्रम रहेको साहित्य सन्ध्याले जनाएको छ ।

Facebook Comments Box

Similar Posts