इन्जिनियर राकेश कार्की
(लस एन्जेलस, अमेरिका)
क्रान्तिको राँको कहिल्यै निभ्दैन
जबसम्म दुःखको झिल्को
बाँकी रहन्छ
अभावको झिल्को
बाँकी रहन्छ
गरिबी, छुवाछुत, जातपात, भेदभाव अनि
बेरोजगारीको झिल्को
बाँकी रहन्छ
जब न्याय पाइँदैन
देशकी चेलीको अस्मिता लुट्दा
जबसम्म नातावाद र कृपावादले
प्रतिभावानहरुलाई लखेट्दा
रूँदै बिदेसिनुपरेका नेपालीहरुको
प्रिय र लालाबाला छुट्दा
सिप, लगन र अवसर सबै
ठुलाठालु पदधारीले
झेलझाल गरेर खोस्दा
तब त
दमनले जति फुकेर निभाउन खोजे पनि
शोषणले जति छोपेर निभाउन खोजे पनि
अत्याचार, अन्याय र क्रूरताले दबाएर
जति निभाउन खोजे पनि
न्यायको झिल्को
शोषितको झिल्को
पीडितको झिल्को
सबै सबै आँसु,
रगत र पसिनाको झिल्को
एउटै ठाउँमा झोसिएर
एउटै आवाज भएर
एउटै मुठी कसेर
एउटै विजयको लक्ष्य ताकेर
क्रान्तिको राँको बलिरहन्छ
तब कसरी निभ्छ ?
निभाउने कसको तागत ?
क्रान्तिको राँको
कहिल्यै निभ्दैन