वैशाख १८, काठमाडौं । श्रमिकका हातका ठेला र निधारको पसिनालाई शब्दको माला उनेर कलङ्कीमा श्रमको एउटा विशेष उत्सव मनाइएको छ। अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा जागरण एकेडेमीको सभाहलमा आयोजित श्रमश्रमिक विशेष कविता वाचन कार्यक्रम२०८३ मा झन्डै तीन दर्जन कविहरूले आफ्ना ओझपूर्ण रचनामार्फत श्रमजीवी वर्गको सङ्घर्ष र स्वाभिमानलाई मुखरित गरे। वर्तमान कविता समूह र रातो घर फाउन्डेसनको संयुक्त आयोजनामा सम्पन्न यस समारोहमा वरिष्ठ कवि श्यामलले ‘फरक फरक लोकतन्त्र’ र ‘पित्तलको पिकदानी’ मार्फत निर्वाचनमा हुने श्रमिकको प्रयोग र श्रम शोषणको राजनीतिक पाटोलाई उजागर गर्दै वाचनको शृङ्खला सुरु गरेका थिए।

त्यसैगरी, कवि अमर आकाशले ‘स्वाद’ मार्फत काममा गएकी आमा कुरिरहेका बालबालिकाको भोको मनोविज्ञान पस्किए भने कवि चाचुले ‘बुजुल्टिएको नाम्लो’ मार्फत आर्थिक मन्दीको मारमा परेका भरियाको व्यथा सुनाए। रामगोपाल आशुतोषले ‘भोकको रामायण’ मार्फत पुस्ता दर पुस्ताले भोगेको अभावको कथा उने भने कञ्चन गजमेरले पसिनाको वास्तविक मूल्य र मिथोचले ‘पसिनाको गीत’ मार्फत श्रमिककै कारण पृथ्वी सुन्दर रहेको चर्चा गरे। किसन पौडेलले ‘घटेरो’ मार्फत गरिबीको चक्र र अभय श्रेष्ठले श्रमिकको उच्च स्वाभिमानको महिमा गाए। लुमन्ती चित्रकारले समृद्धिको आधारशिलाका रूपमा रहेका ‘नथाकेका हातहरू’ को प्रशंसा गरिन् भने प्रमोद स्नेहीले ‘श्रमिक, बुद्ध र सिटामोल’ मार्फत औषधि नपाएर मृत्यु बाँचिरहेका मजदुरको चित्रण गरे।

सिर्जनाकै क्रममा जयन्ती स्पन्दनले श्रमिकलाई ‘मौन नायक’ भनिन् भने शेखर कुमार श्रेष्ठले शिल्पी समुदायको उपेक्षित पहिचानको मुद्दा उठाए। बाबु त्रिपाठीले राज्यमा श्रमिकको स्वामित्वमाथि प्रश्न गर्दा नमुना शर्माले श्रमिकको श्रमको गरिमालाई लयबद्ध गरिन्। प्रेमिला राईले वैदेशिक रोजगारीका कारण बिछोडिएका परिवारको कथा सुनाउँदा प्रशान्त खरेलले ‘आलु माइला’ जस्ता गुमनाम श्रमिकको खोजी गरे। सोमनाथ दाहालले विभेद हटाउने चेतनाको कुरा गरे भने गोपाल कुमार मैनालीले महल बनाउने तर आफैँ घरविहीन हुने मजदुरको विडम्बना पस्किए। शकुन्तला जोशीले ‘भोकको जुलुस’ मार्फत विद्रोहको सङ्केत गरिन् भने अनिता लामाले श्रमिकको अभावमा सहरमा छाउने सन्नाटाको चर्चा गरिन्।

समारोहमा लक्ष्मी मालीले श्रमपछिको आराम र भोकमा हुने वास्तविक मिठासको दर्शन सुनाइन् भने राजबाबु पहाडीले ‘बाल श्रमिक’ का लुटिएका सपनाको चर्चा गरे। राजाराम राउतले मजदुर दिवसको विडम्बनामाथि व्यङ्ग्य गरे भने स्नेह सायमीले ‘सुचीकार’ मार्फत अरूको इज्जत सिउने तर आफ्नै सपना उध्रिएका पात्रको व्यथा सुनाए। धीरकुमार श्रेष्ठले ‘भरिया दाइ’ को स्मृति र रिता बलामीले आमाको अघोषित श्रमलाई कवितामा उतारेका थिए। वासुदेव अधिकारीले श्रमिक चेतना र चन्द्रबहादुर लामाले श्रमिकका दैनिक सङ्घर्षका आयामहरूलाई प्रस्तुत गरे। सहजकर्ता एवं कवि रमी प्रियाले ‘मानिस र पर्खाल’ मार्फत मानिसले खडा गरेका विभेदकारी पर्खालहरूमाथि प्रश्न उठाइन्।

कार्यक्रमको बिट मार्दै वर्तमान कविता समूहका सदस्य कवि विश्व सिग्देलले ‘जुस पसलमा’ कवितामार्फत मेसिनले उखु निचोरे झैँ व्यवस्थाले श्रमिकको जीवन निचोरेको मर्मस्पर्शी यथार्थ सुनाए। सो अवसरमा बोल्दै सिग्देलले वर्तमान कविता समूहले विगत दुई वर्षदेखि निरन्तर यस्ता कार्यक्रमहरू आयोजना गर्दै आएको र यसलाई भविष्यमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। उनले समूहले आगामी ‘विश्व वातावरण दिवस’ को अवसरमा अझ भव्य र विशेष साहित्यिक कार्यक्रम आयोजना गर्ने योजना रहेको जानकारी दिँदै कार्यक्रम समापन गरेका थिए। समग्रमा यो कार्यक्रम श्रम र सिर्जनाको सुन्दर सङ्गमका रूपमा सम्पन्न भयो।

 

Facebook Comments Box

Similar Posts