साउन २४, काठमाडौं । कवि भूपि शेरचनबारे लेखिएको पुस्तक ‘भूपि’ लोकार्पण गरिएको छ। मंगलबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा प्राध्यापक अभि सुवेदी, वनस्पतिविद् वैज्ञानिक तीर्थबहादुर श्रेष्ठ, भूपिपत्नी कान्ति शेरचन र भूपिकी छोरी एवं लेखिका कविता शेरचनले पुस्तक लोकार्पण गरे।

लोकार्पण कार्यक्रममा सुरुमा पत्रकार एवं लेखक देवेन्द्र भट्टराईले लेखिका कविता शेरचनसँग संवाद गरेका थिए। संवादमा शेरचनले आफ्ना पिता भूपिका विषयमा आमरूपमा प्रचलित कतिपय धारणा एवं वास्तविकताबारे प्रकाश पारिन् । ‘मलाई एक–दुई कक्षा पढ्दा भूपि शेरचनकी छोरी हुँ भन्न नपरे हुन्थ्यो जस्तो लाग्थ्यो,’ रक्सी पिएको विषयमा आफ्ना बाबुको बढी आलोचना भएको सम्झिँदै उनले भनिन्, ‘तर, चार–पाँच कक्षा पढ्ने वेलासम्म मेरो स्कुलका शिक्षकदेखि समाजका लब्धप्रतिष्ठित व्यक्ति सबै म त तिम्रो बुबाको ठूलो फ्यान हुँ नि भन्दै आएपछि उहाँको छोरी हुँ भनेर चिनिनमा गर्व लाग्न थाल्यो।’

आफ्नो घरमा जति पनि मानिस आउँथे, उनीहरू सबै भूपिका प्रशंसक भएको देखेपछि त बुबाको महत्ता आफूले झनै बढी बुझेको उनको भनाइ थियो।

कार्यक्रममा भूपिका विषयमा प्राध्यापक अभि सुवेदीले पनि धारणा राखे। कवि भूपि शेरचनका विषयमा यसरी पुस्तक आउला भनेर नसोचेको र त्यो पनि अंग्रेजीमा आउँदा आफू थप चकित परेको उनले बताए। ‘भूपिदाइलाई रक्सीसँग जोडेर जति लेखियो, त्यो चाहिनेभन्दा बढी थियो भन्ने मलाई लाग्छ,’ उनले भने, ‘यो समाजमा रक्सी नखाने को छ ? यस विषयमा भूपिदाइलाई अलि बढी नै नकारात्मक रूपमा प्रस्तुत गरिनुहुन्नथ्यो भन्ने मलाई लाग्छ।’

भूपिले आफ्नो समयमा देशको अवस्था र मानिसहरूको वास्तविकतालाई जीवन्त रूपमा कवितामा उतार्ने गरेको सन्दर्भलाई पनि प्राध्यापक सुवेदीले जोडे।

कृषि वैज्ञानिक तीर्थबहादुर श्रेष्ठले पनि कार्यक्रममा भूपिबारे रोचक प्रसंग सुनाए। नेपाल प्रज्ञा प्रतिष्ठानमा सँगसँगै प्राज्ञ हुँदाका सन्दर्भदेखि भूपिले लेख्ने गरेका कविताका विषयमा उनले चर्चा गरे।

पुस्तकमा कविता शेरचनले आफूले चिनेका बुबा, उनले भोगेको समाज, उनलाई लागेका लाञ्छना आदिलाई सूक्ष्म किसिमले प्रस्तुत गरेको पनि श्रेष्ठले बताए । ‘पुस्तकमा आमा नहुनुको पीडा मात्र देखाइएको छैन,’ श्रेष्ठले भने, ‘आमाटोकुवाका रूपमा आफूलाई लाञ्छना लाग्दा भूपि विक्षिप्त बनेका आदि विषयलाई पनि बडो मार्मिक रूपमा प्रस्तुत गरिएको छ।’

कार्यक्रममा भूपिपत्नी कान्ति शेरचनले पनि विगत सम्झिइन् । भूपिले जुनसुकै रचना लेखिसकेपछि आफूलाई सुनाउने गरेको उनले बताइन् । साथै भूपिको निधन भएको ३५ वर्षपछि आफ्नी छोरीले बाबुलाई सम्झिएर यति सुन्दर पुस्तक लेखेकामा आफूलाई गौरवबोध भएको उनको भनाइ थियो।

Facebook Comments Box

Similar Posts