जेठ १७, काठमाडौँ । सुरभि साहित्य प्रतिष्ठानको १७३ औँ आख्यान वाचन शृङ्खला सम्पन्न भएको छ । प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सुरभिका संरक्षक तथा अभिनव साहित्य समाजका अध्यक्ष गोविन्द घिमिरे वेदमणि प्रमुख अतिथि रहनुभएको थियो भने अतिथिहरूमा कथाकार दिवाकर न्यौपाने र मासिक १०० अभियानका अध्यक्ष सञ्जय पोखरेल हुनुहुन्थ्यो ।
प्रमुख अतिथि वेदमणिले वाचित कथाहरूको सामान्य समीक्षा गर्दै विजय चालिसेको स्वर्गारोहणको घटनाले जीवन के हो भन्ने बुझ्नुपर्ने कुरा बताउनुभयो । वहाँले कुनै पनि व्यक्तिले लेखेको कृति वा गरेको कामले कीर्ति राख्न सके मात्र जीवन रहने नत्र मृत्युपछि कुनै निशाना नरहने हुँदा कीर्ति राख्ने कर्म गर्नुपर्ने बताउनुभयो । वहाँले मृत्युसँग सम्बन्धित बोधकथा पनि सुनाउनुभयो ।
नियमित कथावाचनको कार्यक्रम समापनपछि २०८२ जेठ १६ गते स्वर्गारोहण भएका कीर्तिशेष विजय चालिसेका तस्बिरमा पुष्पार्पणसहित श्रद्धाञ्जली सभा गरी दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै एक मिनेट मौन धारण गरिएको थियो । कथावाचनको अन्त्यमा गरिएको यो कार्यक्रममा प्रतिष्ठानका अध्यक्षले बोल्दै वियज चालिसेको साहित्यिक योगदानको चर्चा गर्दै आफ्नो हितैषी साहित्यका अभिभावक गुमाउँदाको पीडा व्यक्त गर्नुभएको थियो । यी कुराहरू व्यक्त गर्दै गर्दा अध्यक्ष भावुक बन्नुभएको थियो ।
प्रतिष्ठानका उपाध्यक्ष परशुराम पराशरले सञ्चालन गरेको यस कार्यक्रममा दिवाकर न्यौपाने, सुशील आचार्य, शर्मिला तिमल्सिना, एलिना चौलागाई, आर्या घिमिरे, परशुराम पराशर र घनश्याम प्रसाईंले कथा–लघुकथा वाचन गरेका थिए ।