साउन २७, काठमाडौं । नेपाल बैङ्क लिमिटेडका बैंकर अश्विनकुमार पुडासैनीको ‘समृद्धिको हुटहुटी’ कृति विमोचन गरिएको छ । बागबजारस्थित एक होटलमा एक कार्यक्रमका बिच पुस्तकको विमोचन गरिएको हो ।
पुस्तकको विमोचन नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी, वरिष्ठ मुटु सर्जन डाक्टर अरुण माश्के तथा पर्यटन व्यवसायी ज्योति अधिकारीले संयुक्त रूपमा गरेका हुन् ।
‘सुशासन र समृद्धिका एक सय एक पाइला’ उपशीर्षक रहेको पुस्तकमा देशमा सुशासन र समृद्धिका लागि पुडासैनीले देखेको बाटोको चर्चा गरिएको छ। पछिल्लो समय प्रायः नेपाली विदेशिने गरेका छन् । उनीहरूलाई नेपालमै कसरी राख्न सकिन्छ भन्ने सकारात्मक पक्ष, रूपान्तरणका कुरा, सुरक्षा निकायको पुनःसंरचना गर्न सकिनेजस्ता विषयहरू पुस्तकमा उल्लेख छ ।
कार्यक्रममा समीक्षकहरूले यो पुस्तक परिवार र समाजका लागि मात्र नभएर समाजका हरेक पक्षलाई उपयोगी रहेको बताएका छन् ।
कार्यक्रममा समीक्षा गर्दै डा. ध्रुव आचार्यले आम मानिसलाई आफ्नो पुस्तकमार्फत सकारात्मक ऊर्जा दिने काम गरेकोमा लेखकलाई बधाई तथा शुभकामना व्यक्त गरे । देशमा सुशासन र समृद्धिको नारा लगाउनेलाई सुशासनबारे नै जानकारी नहुने उनको भनाइ छ । उनी भन्छन्, ‘नेपालमा सुशासन र समृद्धिको नारामा लगाउनेलाई नै यसको परिभाषा थाहा हुँदैन । यो पुस्तकले यसको परिभाषालाई पनि समेटेको छ ।’
समीक्षक कृष्ण हाछेथुले लेखकको सिर्जनात्मकता शैलीबारे व्याख्या गरे । उनको पहिलो कृति ‘बत्तीमुनिको उज्यालो’ पुस्तकले नै लेखकले कुनै पूर्वाग्रहबिना सिङ्गो नेपालको राजनीतिक परिस्थिति पुस्तकमा समेटेको उल्लेख गरे।
पुस्तकमा गाँस, बास, कपास, शिक्षा, स्वास्थ, सुरक्षालगायत सबै राजनीतिक दलहरूको चुनावी घोषणापत्र सरकारको वार्षिक कार्यपत्रमा मात्र सीमित रहने कुरा पनि उल्लेख छ। मुलुक र समाजको परिस्थितिअनुसार देशलाई अब लोककल्याणकारी राज्यतर्फ लानुपर्ने उनको सुझाव थियो।
समीक्षक ज्योति अधिकारीले लेखक स्वयंले गरेको अनुभूति पुस्तकमा समेटिएको बताए । ‘मृत्युदेखि डराउन नहुने सकारात्मक कुरा पुस्तकमा छ,’ उनले भने ।
गत वर्ष पुडासैनीलाई हृदयाघात भएको थियो । कृष्ण अधिकारीले मृत्युको मुखबाट बाँचेका पुडासैनीको पुस्तक प्रकाशित हुनु गर्वको कुरा भएको बताए । ‘पुस्तकमार्फत लेखकले समाज र राष्ट्रलाई केही दिने आँट गरेका छन्,’ उनले भने ।
पुस्तक प्रकाशनबारे शुभकामना दिँदै पुस्तकका सम्पादक शरच्चन्द्र वस्तीले आम मानिसलाई सकारात्मक ऊर्जा दिने व्यक्तिको रूपमा लेखकलाई चिनाए । ‘यो पुस्तक लेखककै मनको हुटहुटी हो,’ उनले भने ।
पुस्तक दिव्य देउराली प्रकाशन प्रा.लि.ले प्रकाशित गरेको हो।