साउन २७, काठमाडौं । चलचित्र ‘बोबी’की अभिनेत्री कविता गुरुङको कविता संग्रह ‘मेरो कविताको शीर्षक छ’ लोकार्पण गरिएको छ। शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, निर्माता संघका कोषाध्यक्ष ज्योती राईलगायतले कविता संग्रहको ‘सट लिष्ट’ सार्वजनिक गरे।
कार्यक्रममा अभिनेत्री गुरुङले आफ्नो जीवनका भोगाइहरु कवितामार्फत उतारेको बताइन्। ‘म राम्रो कवि, साहित्यकार होइन। आफूले लेखेको कविता सबैलाई सुनाउन, देखाउन मन लागेकोले सार्वजनिक गरेकी हुँ,’ अभिनेत्री गुरुङले भनिन्।
गुरुङले सार्वजनिक गरेको ‘सट लिष्ट’मा १० वटा कविता छन्। नर्वेमा बस्दै आएकी अभिनेत्री गुरुङ कविता सार्वजनिकका लागि मात्रै केहीदिन अगाडि नेपाल आएकी हुन्।
कार्यक्रममा कविताले ‘नबुझ्दा’, ‘मनमा लागेका सबै कुराहरु’, ‘भेट्नु छ एकचोटी अब फेरि’ शीर्षकका तीन कवितासमेत वाचन गरेर सुनाएकी थिइन्।
अभिनेत्री गुरुङले गतवर्ष ‘म अनि मेरो’ नामक आत्मकथा पुस्तक ल्याएकी थिइन्। जसमा उनले कलेज लाइफ, उमेश थापासँग प्रेम र अन्तर्जातीय विवाह, माइती पक्षको अवरोध, बुहारी हुँदाको अनुभव र नेपालदेखि नर्वेसम्मको यात्रालाई उतारेकी थिइन्। अहिले सार्वजनिक कविता संग्रहमा पनि जीवनका त्यही कालखण्डका भोगाइ छन्।
कविता र उमेशले परिवारको सहमतिबिना भागेर अन्तर्जातीय विवाह गरेका थिए। विवाहपछि भागेर नर्वे पुगेका उनीहरुको प्रेमकथामा केही वर्षअगाडि ‘बोबी’ फिल्म निर्माण भएको थियो। जुन फिल्ममा कविता र उमेश नै मुख्य भूमिकामा थिए।