भदौ ३०, काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति बीपी कोइरालाको ‘जेल डायरी’ सार्वजनिक गरिएको छ । पहिलो जननिर्वाचित प्रधानमन्त्री कोइरालाले जेल छँदा लेखेको डायरीलाई पुस्तकको रुपमा बाहिर ल्याइएको हो । पुस्तकको सम्पादन शंकर तिवारीले गरेका हुन् ।

सार्वजनिक कार्यक्रममा बोल्दै कांग्रेस महामन्त्री गगन थापाले जेल डायरी पढ्दा मान्छे भएर मान्छेको डायरी पढेको अनुभूत हुने बताए । ‘कांग्रेस भएर महामानव नभई मान्छे भएर मान्छेको डायरी पढेको अनुभूत हुन्छ,’ उनले ललितपुरको सानेपामा रहेको पार्टीको केन्द्रीय कार्यालयमा पुस्तकालय बनाउन सुरु भएको र त्यसमा बीपी कोइरालाको अध्ययनका लागि छुट्टै खण्ड हुने बताए ।

कार्यक्रममा माओवादी केन्द्रका सचिव राम कार्कीले बीपी कोइरालाको कारण अहिलेको राजनीतिज्ञहरुले आफूलाई इन्फेरिएर मूल्यांकन गर्ने बताए ।

‘नेपाल देवकोटाले साहित्य र बीपीले राजनीतिमा जुन मानक स्थपित गरेका छन् त्यसलाई कसैले तोड्ने सकेका छैनन्,’ उनले भने, ‘हाम्रो पिढी इन्फेरिएर फिल गर्छ किनभने राजनीतिमा बीपी र साहित्यमा देवकोटालाई जित्न सकिएन् भनेर ।’

कार्यक्रममा प्राध्यापक कृष्ण खनालले बीपी कोइरालाको बारेमा रहेको भ्रमहरुलाई भत्काएर समीक्षा गर्नुपर्ने बताए । ‘हामीले बीपीको बारेमा पालेको भ्रमहरु सबैभन्दा पहिले भत्काउनु पर्छ । अनिमात्रै रिभिजिट गर्न सकिन्छ । भ्रमहरु पाल्दापाल्दै कसरी रिभिजिट हुन्छ,’ उनले भने, ‘यसअघि जेल जर्नलले धेरैको भ्रम फालेको थियो । आत्मवृत्तान्तले कति गर्‍यो थाहा भएन ।’

कार्यक्रममा एमाले उपमहासचिव प्रदीप ज्ञवाली, कांग्रेसका प्रवक्ता मिन विश्वकर्मासहितले पुस्तकमाथि चर्चा गरेका थिए ।

Facebook Comments Box

Similar Posts