अनिता लामा
पानीको बुँद धर्ती स्पर्श गर्न
तल झर्नैपर्छ
बादल गर्जेर के भो
ऊ आकाशमा रोकिँदैन
चट्याङले तर्साएर के भो
ऊ हावामा अडिन सक्दैन
पानी झर्नु, धर्ती रसाउनु
केवल संयोग हुन सक्दैन
पानी झरेपछि नै हुने
पानी र धर्तीबिचको संसर्ग
माटो र बिरूवाबिचको संसर्ग
हावा र प्रकृतिबिचको संसर्ग
बुझ्नुस् चित्त र श्वासबिचको स्पर्शजस्तै हो ।
पानी हुनका लागि ठोक्किनुपरेका
बादलका सुन्दर बुट्टाहरु
तातो वाष्पीकरणका
उकुसमुकुस गुम्साहटहरु
कहिले कब्जियत कहिले खुकुला
बन्नुपरेका स्वतन्त्र हावाहरु
सम्झनुस् तपाईंकै जीवनका
अनित्य हर घटनाहरु हुन्
भन्नुस् कर्म र परिणतिका आयामहरु हुन् ।
जब पानी बिसाएपछिको धर्ती
आकाश रिसाएपछिको प्रकाश
एक हुन्छन् सम्यक सम्बोधीमा
तब लिनुस् एक स्पर्शी श्वास
र भइदिनुस् प्रेम, करूणा, मैत्रेय र प्रज्ञा
जसरी एक हावा
एक पानी
एक माटो
भइरहेका छन् संसारभरको धमनी ।


