शिवाङ्क चौलागाईं
(केही टुक्रा छोटा कविता)
@ नदीको चित्कार
आफ्नै विरुप चेहरा देखेर
कहिलेकाहीँ
नदीहरु पनि रूने गर्छन्—
तर नदी रोएको हामी सुन्दैनौँ,
त्यतिबेला
हाम्रा पुँजीवादी कारखानाहरु
चर्को स्वरमा
मानवताको गीत गाउँदै हुन्छन्,
जसरी
इतिहासमा
सतीको चित्कार दबाउन
जोडतोडले
पतिव्रता धर्मको झ्याम्टा बजाइन्थ्यो ।
हिजो जुन नदीमा
आकाशले आफ्नो अनुहार हेथ्र्यो,
आज त्यही नदीभित्र
प्लास्टिकका शव तैरिरहेछन् ।
मान्छेले
आफ्नै अस्तित्वको मुहानमा
विष घोल्दा पनि
बजारले त्यसलाई
‘विकास’को संज्ञा दिइरहेछ ।
अज्ञानको प्रदुषण मिसिएर
जब पानी नै बिरामी हुन्छ,
धमनीभित्र
मानव रगत पनि शुद्ध बग्दैन ।
@ माटोको घाउ
माटो
केवल बलौटे धुलो होइन,
युगौँयुगको पसिना,
प्राग् इतिहासको कथा,
र असङ्ख्य सपनाहरुको गर्भाशय हो ।
तर आज
लालचका विषालु नङ्ग्राहरुले
उसको गर्भ चिथोरिरहेछन् ।
किसानका उर्वर खेतहरुमा
बालीनालीभन्दा बढी
विषादी उम्रिन थालेपछि,
अन्न पनि
बिस्तारै बिस्तारै
मृत्युदेवको सहयात्री बन्दै छ ।
जमिन थाक्यो भने
सभ्यताको आधार थाक्छ,
किनकि
आकाशमा महल ठड्याए पनि
मान्छेले टेक्ने भनेको
अन्ततः माटोमै हो ।
@ हावाको सुस्केरा
हावा—
जीवनको सबैभन्दा मौन मित्र ।
तर आज
उसको छातीमा
कार्बनका काँडाहरु गडिरहेछन् ।
सहरहरु
विषालु धुवाँले भरिएका छन्
र मान्छे
मास्कभित्र बाँचेको छ,
तर ऊ सोच्दैन—
यदि हावालाई नै
मास्क चाहिने दिन आयो भने,
के हुने छ पृथ्वीको श्वासप्रश्वास ?
रूख काटेर
अक्सिजनको शवयात्रा निकाल्नेहरु,
ओजनको पर्दा च्यातेर
सैतानलाई निम्ता गर्नेहरु,
आफ्नै सन्तानको भविष्यमाथि
बर्बादीको बन्चरो चलाइरहेछन् ।
शुद्ध हावाको अवसान भएको दिन
शोकधुन बजाउन
धर्तीमा कुनै मान्छे बाँकी हुने छैन ।
@ ध्वनिको बर्बरता
सबै हिंसा
हतियारले मात्र हुँदैनन् ।
कतिपय हिंसा
अत्यधिक आवाजले पनि गर्छन् ।
चर्का हर्न,
कर्कश भिड,
स्पिकरको बर्बर आक्रमण—
मान्छेको आन्तरिक शान्ति
क्रमशः क्षयीकरण हुँदै गइरहेछ ।
मौनता अब
विपश्यनाको विषय मात्र रहेन,
संरक्षण गर्नुपर्ने
एउटा दुर्लभ
प्राकृतिक सम्पदा बनिसकेको छ ।
समाज
जब सुन्नभन्दा बढी कराउन थाल्छ,
तब संवादभन्दा पहिले सङ्घर्ष जन्मिन्छ ।
ध्वनि आतङ्क बढ्दै जाँदा,
शान्तिको दूरी पनि टाढिँदै जान्छ ।
@ विनाशको स्विच
विज्ञान आफैमा गलत होइन,
तर चेतनाविहीन शक्ति
सधैँ भयावह हुन्छ,
मूर्खको हातको आणविक स्विचजस्तै ।
मान्छेले
सूर्यको अनुकरण गरेर
सभ्यता चम्काउन सक्थ्यो,
तर उसले
प्रलयका बटनहरु बनायो ।
अहम्को आणविक तरङ्ग
कङ्क्रिटका भवनमाथि मात्र खस्दैन,
मानवको भविष्यमाथि पनि खस्छ ।
हिरोशिमा र नागासाकी
सामान्य घटना मात्र होइनन्—
मानव अहङ्कार झल्काउने ऐना हुन् ।
मुख्य प्रश्न
‘तिमी कति शक्तिशाली छौ’ होइन,
बरू
‘तिमी सभ्य बन्यौ कि बनेनौ’ भन्ने हो ।
आणविक संयमता भनेको
सन्ततिलाई
अनुकूल भविष्य सुम्पिनु हो ।
यो दुर्लभ, हराभरा धरामा
सभ्यताको दियो जलाइराख्न
अहङ्कारको विकिरणबाट जोगाउनै पर्छ
वातावरणलाई ।


