असोज ७, काठमाडौँ — हेम-सुनील जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार यस वर्ष महेश केसी र शिव सिलवाललाई संयुक्तरूपमा प्रदान गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सिंहदरबारमा रहेको नेपाल टेलिभिजनमा आयोजित विशेष कार्यक्रममा कान्तिपुर दैनिकका रुकुम संवाददाता केसी र नेपाल टेलिभिजन धादिङ संवाददाता सिलवाललाई पुरस्कार प्रदान गरिन् ।
नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाले स्थापना गरेको पुरस्कार राशि एक लाख रुपैयाँ छ ।
सीको ‘विकासमा पछि परेको रुकुमको सिस्ने गाउँपालिका’ र सिलवालको ‘पहिरोका कारण पृथ्वी राजमार्गमा यात्रुहरूले पाएको सास्ती’ शीर्षकको समाचार सामग्रीलाई पुरस्कृत गरिएको हो । देशभर क्रियाशील १९ जना टेलिभिजन पत्रकारले पठाएका ३५ आवेदनमध्येबाट पुरस्कृत सामग्री छनोट गरिएको हो ।
वरिष्ठ आमसञ्चार विज्ञ दिलभूषण पाठक, निर्मला आचार्य, पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समीरजंग शाह, समाचार महाशाखा प्रमुख पुष्पहरि क्याम्पा राई र नेपाल टेलिभिजन प्रतिष्ठान शाखाका अध्यक्ष दीपकजंग हमालसहितको मूल्यांकन तथा छनोट समितिले पुरस्कृत सामग्री छनोट गरेको हो । हेम भण्डारी र सुनील सिंहको स्मृतिमा प्रतिष्ठान शाखाले २०६३ सालमा स्थापना गरेको पुरस्कार २०६४ सालदेखि हरेक वर्ष वितरण हुँदै आइरहेको छ ।
पुरस्कार वितरण कार्यक्रममा सञ्चारमन्त्री शर्माले सञ्चार क्षेत्रलाई थप व्यवस्थित बनाउन जरुरी रहेको बताइन् । उनले सञ्चार क्षेत्रसँग सम्बद्ध, ऐन, कानुनलाई सरकारले व्यवस्थित गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिन् ।