साउन २७, काठमाडौं । नेपाल प्रज्ञा– प्रतिष्ठानको साहित्य (मातृभाषा) विभागले मातृभाषा साहित्य शृङ्खला प्रारम्भ गरेको छ। यस शृङ्खलामा मातृभाषा साहित्यबारे सिर्जना, संवाद र विमर्श नियमित रूपमा प्रत्येक महिनाको अन्तिम शुक्रबारका दिन आयोजना गरिने भएको छ ।यस क्रममा प्रज्ञा(प्रतिष्ठानका साहित्य (मातृभाषा) विभागका सदस्य तथा युनेस्कोका सहजकर्ता डा.सोमबहादुर धिमालले ‘धिमाल भाषाको साहित्य विषयक कार्यपत्र प्रस्तुत गरे ।
यसमा धिमाल जातिका मौलिक विशेषता र परम्पराहरू,आरोह अवरोह, अवस्था,पुस्तान्तरण,चलचित्र, गीति साहित्य,पत्रकारिता,लोककथा,लोकउखान ,किंवदन्ती ,कविता ,गीत,नियात्रा आदि विधागत कृतिबारे कार्यपत्रमा उल्लेख गरिएको छ।
यसअवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले सबै जातजाति र समूदायका आआफ्नै भाषा छन् । तिनले बोल्ने सबै भाषा मातृभाषा हुन् ।भाषामा विभेद झल्किने कुनै पनि मार्जिनको जरुरत छैन ।कर्मकाण्डीय रूपमा वर्षमा एकचोटि मातृभाषा दिवस मनाइन्थ्यो । त्यस परम्पराको साटो मातृभाषाको संरक्षण र संवर्धान गर्ने उद्वेश्यले मातृभाषा साहित्य शृङ्खलाको सुरु गरिएको हो ।यसले मातृभाषाका स्रष्टाहरूलाई उत्साहित र प्रोत्साहित गर्ने छ’ भने ।
यसैगरी प्रज्ञा–प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ ‘विमल निभा’ले सबै जातजातिको मातृभाषा र साहित्य प्राण हो । यसको उत्थान र विकासमा लाग्न मातृभाषा साहित्य शृङ्खलाले उत्साह र हौसला थप्ने छ’ भने ।
यसै क्रममा प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीले स्वागत मनतव्यको क्रममा नेपाल बहुजातीय र बहुभाषा भएको देश हो । यहाँ भएका सम्पूर्ण मातृभाषाको संरक्षण र संवर्धान गर्ने दायित्व बहन गरेका छौँ।यसैअनुरूप मातृभाषा साहित्यको नियमित शृङ्खला सुरु गरेको बताए ।