जेठ २७, काठमाडौं । भानु प्रतिष्ठान अध्यक्षमा डा. नवराज लम्साल र महासचिवमा डा. रमेश शुभेच्छु निर्विरोध निर्वाचित भएका छन् । काठमाडौं स्थित बानेश्वर बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न संस्थाको साधारण सभाले लम्साल र शुभेच्छुलाई निर्वाचित गरेको हो |
सभालाई सम्भोधन गर्दै संस्थाका सचिव डा. रमेश शुभेच्छुले भौतिक रुपले सम्पन्न नभए पनि भानु प्रतिष्ठान गुणात्मक मूल्यको संस्था भएको बताउनुभयो । प्रमुख अतिथि डा. वासुदेव त्रिपाठीले संस्थाको इतिहास, भानु चलचित्र निर्माणको प्रसंग र नेपाली साहित्य परम्परामा भानुको योगदान विषयमा प्रकाश पार्दै नव निर्वाचित पदाधिकारी र सदस्यहरुलाई बधाई अर्पण गर्नुभयो ।
संस्थाका पूर्व अध्यक्ष डा व्रतराज आचार्यले आफूले बाह्र वर्षसम्म नेतृत्व गर्दाका अनुभव सुनाउँदै नयाँ कार्यसमितिले नयाँ जोस जाँगरका साथ काम गर्ने विश्वास व्यक्त गर्नुभयो । क्याम्पस प्राङ्गणमा रहेको भानु प्रतिमामा प्रमुख अथितिबाट माल्यार्पण गरी सुभारम्भ भएको सो सभाले भानु प्रतिष्ठानको अध्यक्षमा डा.नवराज लम्साललाई चयन गरेको हो ।
डा.लम्सालको नेतृत्वमा गठित प्रतिष्ठानको १२ सदस्यीय नयाँ कार्य समितिको उपाध्यक्षमा ऋषभदेव घिमिरे, महासचिवमा डा.रमेश शुभेच्छु, सचिवमा त्रिभुवनचन्द्र वाग्ले र पुरु लम्साल अनि कोषाध्यक्षमा ओम रिजाल निर्वाचित हुनुभएको छ भने सदस्यहरुमा डी.पी. अर्याल, उषा भट्ट, हरिवोल ढकाल, प्रज्ज्वल कोइराला ,सीता ओझा र नवराज जैसी चयन हुनुभएको छ । निर्वाचित कार्य समितिको कार्यकाल दुई वर्षको हुने छ ।
प्रतिष्ठानले प्रा.डा वासुदेव त्रिपाठी, डा. तुलसी भट्टराई, डा. केदार भट्टराई र डा. रामप्रसाद ज्ञवाली सम्मिलित पाँच सदसीय सल्लाहकार समिति समेत चयन गरेको छ ।
भानु प्रतिष्ठान २०३२ सालदेखि काठमाडौँमा क्रियाशील संस्था हो । नेपालका राष्ट्रिय भिभुती आदिकवि भानुभक्त आचार्यका नाममा क्रियाशील यो संस्थाले राजधानीमा राष्ट्रको कार्यकारी प्रमुखको उपस्थितिमा विशिष्ट स्रष्टासम्मान सहित साप्ताहिक कार्यक्रम कार्यम गर्दे आएको छ । देश विदेशका संस्थाहरुसँगको समन्वयमा विभिन्न कार्यक्रम गर्दे आएको छ ।