माघ ११, काठमाडौं ।कवि एवम् कथाकार रासाको सातौँ कृति “अवाक्” लघुकथा सङ्ग्रहको विमोचन कार्य सम्पन्न भएको छ । राजधानीमा आयोजित एक समारोह बीच नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ “रोदन” सहित साहित्यकारहरू किशोर पहाडी, ध्रुब मधिकर्मी, महेश प्रसाईं र दीपक लोहनीले संग्रहको सामुहिक विमोचन गरेका हुन् ।
साहित्यकार श्रीओम श्रेष्ठ रोदनको सभापतित्वमा सम्पन्न कार्यक्रममा विमोचित कृतिमाथि किशोर पहाडी, महेश प्रसाईं, ध्रुव मधिकर्मी र दीपक लोहनीले टिप्पणीसहित कृतिकार रासालाई शुभकामना दिएका थिए । त्यसैगरी, “अवाक्” कृतिबाट कवि तथा कथाकार दिव्य गिरी, हाम्रो लघुकथा केन्द्रकी अध्यक्ष लता के.सी., लघुकथाकार नरेश अमात्य र हेटौंडेली स्रष्टा श्यामप्रसाद श्रेष्ठले १/१ वटा लघु कथा वाचन गरेका थिए । स्रष्टा रासाले कार्यक्रममा सहभागी सम्पूर्णप्रति धन्यवादका साथै आफ्नो भनाइ व्यक्त गरेका थिए ।
कार्यक्रममा विमोचित कृतिका भूमिका लेखक किशोर पहाडीलाई कृतिकार रासा र उहाँकी जीवनसँगिनी मङ्गला मानन्धरले सम्मान पनि गरेका थिए ।
सभापति श्रीओम श्रेष्ठले रासाको लघुकथाकारिता र नेपाली लघुकथाको बारेमा आफ्नो धारणा प्रस्तुत गर्दै कृतिकार रासालाई बधाई तथा शुभकामना दिएका थिए ।
कार्यक्रम साहित्यकार दिव्य गिरीले कार्यक्रम सञ्चालन गरेका थिए ।
स्मरणीय छ , स्रष्टा रासाको यसभन्दा पहिले रात निदाएको रातमा (गजल सञ्चयन), अकाल:अलाप (कविता सञ्चयन), घाउमाथि घाउ (गजल सञ्चयन), जीवन : अगिंमथ:(नेपालभाषा कविता सञ्चयन), कविता व म्ह्याय्(नेपालभाषा कविता शृङ्खला) र फल्चा ( नेपाल भाषा लघु कथा सञ्चयन) प्रकाशित भइ सकेका छन् ।