वैशाख २९, काठमाडौँ । बुद्ध जयन्तीको पावन अवसरमा वर्तमान कविता समूह र शब्दाङ्कुर मासिकको संयुक्त आयोजनामा ‘समकालीन नेपाली कविताका स्वरहरू’ शीर्षकमा कविता वाचन सम्पन्न भयो । कोटेश्वर बहुमुखी क्याम्पस, जडिबुटीमा सम्पन्न कार्यक्रममा २४ जना स्रष्टाले सशक्त कविता वाचन गरे ।
कवि रमी प्रियाले सञ्चालन गरेको कार्यक्रममा वाचित कविताहरू शान्ति, अहिंसा, समकालीन राजनीति र सामाजिक आचारव्यवहारमाथि व्यङ्ग्य, वातावरणीय चेतना र मानवीय मूल्यका विषयमा केन्द्रित थिए । प्रमुख कवितात्मक प्रस्तुतिहरूमा रजनी मिलाको ‘प्रेमबीच’, सोझो गाउँलेको ‘मान्छेलाई मर्ने सुविधा पनि छैन’ र कृष्ण बाउसेको’ ‘हित बुद्ध जायते’ (अहिंसाका विषयमा आधारित कविता) थिए। विश्व सिग्देलको ‘जोकर जब तानाशाह बन्छ’ शीर्षकको राजनीतिक व्यङ्ग्य कविताले दर्शकबाट विशेष प्रशंसा प्राप्त गर्यो ।
चन्द्रबहादुर लामाबाट युद्ध र शान्तिका विषयमा लेखिएको ‘युद्ध र शान्तिको बीच’ कविता वाचन गरियो भने राजेन्द्रप्रसाद अधिकारीको ‘मृत्यु एक भ्रम, एक कथा’ले अस्तित्वको गहन प्रश्न उठायो। दीपक सापकोटाको ‘मान्छे हुनुको दोष’ र धन्वन्तरी मिश्र ‘कात्यायन’को ‘ककारोको फूल’ले मानव अस्तित्व र प्रकृतिसँगको सम्बन्धलाई उजागर गर्यो । लीलाराज दाहालको ‘घाउ’ र अमर आकाशको ‘रुखको हाँगा पनि नकाट्नुहोस्’ जस्ता कविताले तीव्र सामाजिक व्यङ्ग्य प्रस्तुत गर्यो । दीपक लोहनीको ‘दुःखकोआँसु’ र केशव ज्ञवाली ‘आगत’को ‘मौन वृक्ष’मा दुःख, मौनता र मानवीय ढोङको गहिरो चित्रण थियो।
कार्यक्रममा तीर्थराज भट्टको ‘बुद्धको छायाँसँग’, सुनिल पुरीको ‘अपील’ र सेदुनाथ ढकालको ‘कहाँ हरायो बुद्ध’जस्ता कविताले शान्तिको खोजीमा लेखिएका भावनात्मक स्वर प्रस्तुत गरे । हिसिलिना शाक्यको ‘चेतावनी’ र रहेना नकर्मी मानन्धरको ‘शान्तिको आँसु’ले सामाजिक जागरण र समर्पणको सन्देश दिँदै दर्शकलाई झक्झक्यायो।
सुबाससिंह पराजुलीको अङ्ग्रेजीमा ‘ओम् मणि पद्मे हुँ’ र रमी प्रियाको नेपालीमा वाचन गरिएको ‘ओम् मणि पद्मे हुँ’ शीर्षकको कविताले बुद्धको शान्तिलाई आव्हान् गरेको थियो । एन्जल नीलुले मैथिली भाषामा कविता प्रस्तुत गरेर भाषिक विविधतालाई समावेश गरिन् । केशव भट्टाराईले मधुर स्वरमा ग़ज़ल वाचन गर्दा श्रोता मन्त्रमुग्ध भए। धीर कुमार श्रेष्ठको ‘पवित्र क्रान्ति’ वातावरणीय चेतनाले भरिएको सचेत बनाउने कविता थियो । यसका साथै राधा कार्कीले पनि सारगर्भित कविता प्रस्तुत गरिन् ।
मन्तव्यरहित कार्यक्रम समयमै सुरु भएर एक घण्टाको समयावधिमा समापन भयो । कार्यक्रमले भगवान् बुद्धको शान्ति र अहिंसालाई मात्र खोजेन, समकालीन नेपाली कविताको साहित्यिक चेतना र विविध भावनात्मक स्वरलाई पनि स्थान दियो। कविका शब्दहरूले शान्ति, करुणा र सामाजिक न्यायप्रतिको सामूहिक चाहनालाई उजागर गर्यो ।