असोज १२, काठमाडौँ — स्याङ्जा साहित्य प्रतिष्ठान, स्याङ्जाले यस वर्षको यानीति साहित्य पुरस्कार डा. दामोदर पुडासैनीलाई प्रदान गरेको छ । प्रतिष्ठानका अध्यक्ष विश्वप्रेम अधिकारीको अध्यक्षता, प्रा. डा.गोविन्दराज भट्टराईको प्रमुख आतिथ्यता एवं पुरस्कार संस्थापक तुलसी गिरी एवं कृष्ण गिरीको उपस्थितिमा डा. पुडासैनीलाई उक्त पुरस्कार अर्पण गरिएको थियो ।
सो अवसरमा डा. पुडासैनीलाई दोसल्ला ओडाई, नगद पुरस्कार र सम्मानपत्रसहित सम्मान गरिएको थियो । सो अवसरमा प्रमोद पंज्ञेनीद्वारा सम्पादित ‘द्रष्टाका दृष्टिमा स्रष्टा विश्वप्रेम अधिकारी’,पूर्णप्रसाद अधिकारीद्वारा लिखित ‘अनुरञ्जन आफैंभित्र’ र चिन्तु गिरीको ‘आमा जन्मेको देश’ कृतिहरूको विमोचनसमेत गरिएको थियो ।
यानीति पुरस्कार स्याङ्जा जिल्लाका प्रसिद्ध समाजसेवी यादव गिरी र उनका दुई पत्नीहरू नीलकण्ठ गिरी र तिलकुमारी गिरीका नाममा उनका सुपुत्रहरू तुलसी गिरी, कृष्ण गिरी र विश्वेश्वर गिरीले स्थापना गरेका हुन् । उक्त पुरस्कार देशको साहित्यक क्षेत्रमा योगदान दिने व्यक्तिहरुलाई प्रदान गरिँदै आएको छ ।