जेठ ९, काठमाडौं । कवि, गीतकार तथा नियात्राकार सुमन थापा सङ्गमको नवीनतम कविता सङ्ग्रह अभ्युदयको लोकार्पण आज काठमाडौंको पुतलीसडकस्थित ग्रीनलिफ रेस्टुरेन्टमा सम्पन्न भएको छ।विमोचन कार्यक्रममा कुनै औपचारिकता वा मञ्चीय तामझाम नराखी, कवि थापाले आफ्ना ८४ वर्षीय पिता विष्णुवीर थापा, छोरीहरू समिक्षा, प्रशंसा र क्रिशला केसी, तथा नातिनातिनीहरू आरुण्या, आयाङ्श र आव्यान्या केसीसँगै संयुक्त रूपमा कृति विमोचन गरेकी थिइन्। चार पुस्ता एकै ठाउँमा भेला भएर गरिएको यो विमोचनले एउटा छुट्टै स्वाद पस्केको थियो ।
कार्यक्रमको सञ्चालन कवि थापाले आफैँले गरेकी थिइन्। उपस्थितलाई स्वागत गर्ने जिम्मेवारी उनकी छोरी समिक्षा केसीले सम्हालेकी थिइन्।विमोचन समारोहमा कविता वाचन पनि गरिएको थियो। कवि रमी प्रिया, विश्व सिग्देल, श्रीबाबु कार्की र प्रोल्लास सिन्धुलीयले अभ्युदयमा सङ्कलित कविताहरू वाचन गरेका थिए।
कार्यक्रममा साहित्यकार तथा समालोचक डा शेखरकुमार श्रेष्ठले कृतिबारे समालोचनात्मक टिप्पणी प्रस्तुत गरेका थिए। उनले सङ्ग्रहमा प्रेमका विविध रूपहरू—बाबुआमाप्रति, देशप्रति, जीवनप्रति र प्राकृतिक चिजवस्तुहरूप्रति देखिएको उल्लेख गर्दै कविताहरू सरल, प्रतीकात्मक र भावनात्मक भएको बताए।
कवि थापाको यसअघि ‘माइतीघरको फूल’ कविता सङ्ग्रह र ‘प्रेमको आदिम गीत’ संयुक्त कविता सङ्ग्रह प्रकाशित भइसकेका छन्।