जेठ १९, काठमाडौं । साहित्यकार भाग्यशाली अधिकारीको दुखद निधन भएको छ । नेपाली साहित्यका विविध विधामा कलम चलाउने अधिकारीको हृदयघातको कारणले निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

उनकी जेठी छोरी कविता अधिकारीको अनुसार आइतबार राति ९ बजेतिर खाना खाएर पानी खाँदा खाँदै अचानक ढलेका अधिकारीलाई शहिद गंगलाल अस्पताल, बाँसबारी पुर्‍याइएको थियो। अस्पतालमा डाक्टरले पाँचै मिनेटमा ल्याइपुर्‍याएको भए पनि बिरामी बचाउन नसकिने बताएको थियो।
अधिकारी २००९ साल चैत्रमा लमजुङ दुराडाँडा चन्द्रेश्वर गाविस वाड नं ७ रोहोटेपानी जन्मिएका थिए। टोखा नपा वाड नं ७ धापासी ढुङ्गेधारा, प्रगतिटोल बस्दै आएका थिए। उनका एक छोरा र तीन छोरी छन्। अमेरिकामा रहेको छोरा आइपुगेपछि उनको दाहसंस्कार गरिने उनकी छोरी कविता अधिकारीले बताएकी छन्।

उनी साहित्यका विविध विधामा कलम चलाउँथे। उनी सामाखुसी साहित्य समाजका अध्यक्ष हुन्। उनका प्रकाशित कृतिहरू – यो एउटा भरिपूर्ण मरुभूमि (कवितासंग्रह २०५८), आमाका क्रन्दन (खण्डकाव्य २०६०), मनुको खुसी (बालकथासंग्रह २०६५), बुद्धिमान् नुनु (बालकथासंग्रह २०६८), फूँ! गर्‍याे साँढेले (बालकविता २०६८), विरानो लोक (उपन्यास, २०६८), जूनसँग मित (बालकविता, २०६९), हलीको छोरो (बालकथासंग्रह, २०७४, सपनाको मुलुक (महाकाव्य, २०७५) , अचम्मको पानी (खण्डकाव्य, २०७७), शाश्वत चिन्तन नैतिक (लेख सँगालो, २०७७) , दिव्योपदेश (बालकाव्य, २०७७), १०१ छन्द कवितासंग्रह २०७८, दोषी को? (निबन्धसंग्रह, २०७८), लाटोकोसेरो हाँस्यो (बालकथासंग्रह, २०७८) हुन्। उनकाे विरानो लोक उपन्यासमा शोधकार्य पनि भएको छ।

राष्ट्रिय बीमा संस्थान पद नायव व्यवस्थापकबाट अवकाश प्राप्त हुन्। अधिराज्यव्यापी निबन्ध प्रतियोगितामा द्वितीय पुरस्कार प्राप्त २०५५, महाकवि लक्ष्मीप्रसाद देवकोटा काव्यिक पुरस्कार नेपाल साँस्कृतिक संघ, गोधूलि गङ्गा साहित्य काव्य पुरस्कार गोधूलि साहित्य प्रतिष्ठान २०७९, बिडी त्यागी हीरक जयन्ती सम्मान, राष्ट्रिय बीमा संस्थान पूर्व कर्मचारी समाजबाट सम्मान २०७५, मञ्जुश्री साहित्य प्रतिष्ठानबाट सम्मान २०७५ बाट सम्मानित छन्।

उनी सिस्नुपानी नेपाल, मर्स्याङ्दी वाङ्मय प्रतिष्ठान, जनमत प्रकाशन, गण्डकी सामाजिक गुठी जस्ता संस्थाकाे आजीवन सदस्यकाे रूपमा रहेका थिए।

Facebook Comments Box

Similar Posts