भदौ ११, काठमाडौं । प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. बालकृष्ण साहको पुस्तक ‘गर्भको गर्व’ लोकार्पण भएको छ।
साहित्यपोस्टको आयोजनामा नेपाल चिकित्सक संघको केन्द्रीय कार्यालय, बागबजार आयोजित एक समारोहका बिच उक्त पुस्तकको लोकार्पण गरिएको हो।
अतिथिहरु भूपेन्द्रकुमार बस्नेत, लोचन कार्की, उपासना घिमिरे, भावना प्रधान न्यौपाने तथा लेखक साहलगायतले पुस्तकको संयुक्त विमोचन गरेका हुन्। प्रमुख अतिथिमा नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल कार्की रहेको कार्यक्रमको सञ्चालन लेखक तथा पत्रकार अच्युत कोइरालाले गरेका थिए।
कार्यक्रममा डा. साहको पुस्तक महिलाहरुका लागि मात्र नभएर महिलाको मासिकश्रावदेखि गर्वावस्था हुँदै वृद्धावस्थासम्मका स्वास्थ्य जटिलता तथा समाधानका बारेमा जानकारी राख्न सबैका लागि उत्तिकै महत्त्वपूर्ण रहेको अतिथि वक्ताहरुले बताए।
सिर्जनात्मक गैर आख्यान विधाको यो कृतिअघि डा. साहको सुरक्षित मातृत्वसम्बन्धी कृति ‘आमा’ प्रकाशित छ। उनले जनस्वास्थ्य, नर्सिङ तथा पारामेडिक्समा स्नातक तहका लागि ‘प्याथोलजी एण्ड फस्र्ट एड’ नामक पाठ्यपुस्तकसमेत लेखन गरेका छन्।
डा. साहले एक दशकभन्दा बढी समयदेखि नियमित रुपमा स्वास्थ्यसम्बन्धी लेखहरु लेखन तथा प्रकाशन गर्दै आएका छन्। कान्तिपुर पब्लिकेसनको साप्ताहिकमा १० वर्षभन्दा बढी समय महिला स्वास्थ्यसम्बन्धी स्तम्भ लेखेका उनले ‘द काठमाडौँ पोस्ट’, ‘अन्नपूर्ण पोस्ट’, ‘नारी मासिक’, ‘अनलाइनखबर’ लगायत पत्रपत्रिकामा स्वास्थ्य र समसामयिक लेखहरुका अतिरिक्त आख्यानसमेत लेख्दै आएका छन्।
प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. बालकृष्ण साह मोरङ सहकारी अस्पताल, विराटनगरमा कार्यरत छन्। उनले चिकित्साशास्त्र अन्तर्गत एकबिबिएस तथा डिजियो र जनस्वास्थ्यमा एमपिएच गरेका छन्।
साहित्यपोस्ट समूहको सम्पादनमा शब्द मिडिया प्रा.लि.ले प्रकाशनमा ल्याएको पुस्तकको मूल्य २ सय ५० रहेको छ।