भदौ १७, काठमाडौं । संस्कृति स्कुलले साक्षरता सप्ताहको अवसरमा स्रष्टा साक्षात्कार एवं अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरेको छ । काठमाडौं , ठुलो भर्याङ् अवस्थित विद्यालयको हलमा आयोजित कार्यक्रमका प्रमुख अतिथि लेखक, साहित्यकार तथा सम्पादक धीरकुमार श्रेष्ठले विद्यालयमा अध्ययनरत कक्षा ८ का बालबालिकाहरुसँग साहित्यिक भलाकुसारी गर्नु भएको थियो ।
कार्यक्रममा मुख्य अथिति श्रेष्ठले आफ्नो साहित्यिक जीवनका बारेमा सहभागीहरु माझ प्रकाश पार्दै आफ्नो लेखनको प्रारम्भ कालको चर्चा गर्नका साथै साहित्यिक जीवनको लामो अनुभव सुनाउनु भएको थियो । कार्यक्रमको अन्तरक्रियात्मक खण्डमा श्रेष्ठले सहभागीहरुले राखेका विभिन्न सवाल र जिज्ञासाहरुको उत्तर दिनुभएको थियो । कार्यक्रममा श्रेष्ठले आफूले लेखेका कथाहरु समेत प्रस्तुत गर्दै सहभागीहरुमा साहित्यिक प्रेरणा र उर्जा भर्ने प्रयास गर्नु भएको थियो । कार्यक्रममा सहभागीहरुले श्रेष्ठसँगको साक्षात्कार तथा अन्तरक्रियाबाट आफूहरुमा साहित्य प्रति थप रुची जाग्नका साथै साहित्यिक लेखनका लागि प्रेरणा मिलेको बताए । विद्यालयले विभिन्न अवसरमा यस्ता रचनात्मक कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।


