हरि आत्रेय
(मध्यपुरठिमी ७, भक्तपुर)
केटा पक्षको प्रस्तावलाई केटी पक्षबाट खासै चासो दिइएन । केटी पक्षको व्यवहारले केटा पक्षले पनि कान ढालेजस्तो गरे । लमीका यसअघिका दुई प्रस्ताव अस्वीकार भएकोले यो प्रस्तावलाई उसले निकै जोडबल गर्यो ।
‘हैन, पशुपतिका साँढेसाँढीजस्तै पाल्ने हो भने किन छोराछोरीको बिहे गर्नु पर्यो भनेर हारगुहार गर्नुपर्या ? होइन भने ल यिनमा खुट देखाउनुहोस् ।’ दुवै पक्षले खासखुस खासखुस गरे ।
उसले पुनः भन्यो, ‘भविष्य उनीहरुको हो । मेरो ब्रह्मले उपुक्त ठहर गरेको छ । अझै सोचेर भन्नुस् । भोलि राम्रो बार छ, केटाकेटीलाई भेट गराऊँ । जे भन्छन् त्यही गरौँला । कसो हो ?’
दुवै पक्ष यस मामलामा थाकिसकेकाले अन्तमा लमीकै भनाइमा कुरो टुङ्गियो ।
केटाकेटी भेट गराइयो । उनीहरु त कलेज पढ्दाका पूर्व परिचित रहेछन् । दुवै मुस्कुराए । विगत पाँचछ वर्षका याद उनीहरुका मानसपटलमा सल्बलाए । उनीहरुकै स्वीकृतिमा विवाह भयो । चिनेका छरछिमेक इष्टमित्रले सुदीप र विन्दुको विगत र भविष्यबारे कानेखुसी गर्न थाले । उनीहरु विगत बिर्सेर नवीन भविष्यको प्रणय सूत्रमा बाँधिए ।
विवाहको पहिलो रात सुदीपले विन्दुकोे घुम्टो खोल्दै भन्यो, ‘विन्दु, सम्झ त छ वर्ष बितिसकेछ । बरू हामी त्यति नै बेला आजको दिनमा भएको भए पाँच वर्षको खेल्ने साथी हुन्थ्यो । कुरौटेहरुको अभियोग खेप्नुपर्ने थिएन ।’
उसले विगतका सबै कैफियत सुनायो र विन्दुलाई पनि सुनाउन आग्रह गर्यो । तर उनले दकस मानिन् । सुदीपले सबै विगत निर्धक्क सुनायो । केही त थाहा पनि थियो । महिला मन कहाँ खुल्थ्यो र । सुदीपले निकै करकाप गरेपछि विन्दुले कसम खुवाउँदै भनिन्, ‘सुदीप, पहिलाको जस्तो माइसोप्रस्टोल नदेऊ है, गर्भमा भ्रूण हुर्किरहेछ ।’


