भोला ’विद्रोही’
(राभङ्ल, दक्षिण सिक्किम, भारत)

ए बाबु !
सुन न !
तिमी बुझ्दैनौ था’छ
तर बुझेको अभिनय गर
जसरी अभिनय गर्छन्
हाम्रो दुःख देखेर
गोहीको आँसु झार्ने यी नेताहरुले
हज्जारको सहयोग गरेर करोडको
देखावटी गर्ने यी समाजसेवीहरुले
हामीलाई पनि अभिनय गर्न आउनुपर्छ छोरा !
म हाँसेको अभिनय गर्छु
तिमी मुस्कुराएको अभिनय गर
म खुसी भएको अभिनय गरौँला
आँसु नझारौँला
आऊ बस !
म भात पस्किएको अभिनय गर्छु
तिमी भात खाएको अभिनय गर
छक्क परोस् यो पेट र
कर लागोस् भोक हराएको अभिनय गर्न
साँच्चै आज भात पाक्दैन छोरा !

पाकोस् पनि कसरी ?

लकडाउन छ काममा
लकडाउन छ गोजीमा
लकडाउन छ गरिबको आशामा र भरोसामा
सदियौँदेखि लकडाउन नै चलिरहेको छ
गरिबका लागि
न्यायालयमा र कानुनमा
गरिबका लागि
मानवअधिकारमा
लकडाउन छ छोरा !
हाम्रो अवस्था देख्ने बेलामा
नेताहरुको आँखामा
लकडाउन छ
कालोबजारी गर्नेहरुलाई
देख्ने बेलामा पुलिसका आँखामा
त्यसैले छोरा !
हिजैदेखि हाम्रो चुलोमा पनि लकडाउन छ
बुझ छोरा !
आऊ बस !
म भात पस्किएको अभिनय गर्छु
तिमी भात खाएको अभिनय गर
छक्क परोस् यो पेट र
कर लागोस् भोक हराएको अभिनय गर्न
साँच्चै
आज भात पाक्दैन छोरा !

हामीलाई महामारीले मार्नै सक्दैन
यदि बाँच्यौँ भने भोकमरीबाट
पर्ख छोरा !
सरकार राहतको भाषण लिएर आउने छ
समाजसेवीहरु
क्यामेरा लिएर आउने छन्
देखाउनु हुन्न यी विषादका आँसु
उनीहरुले देख्नु हुन्न हाम्रो दुःख
म हाँसेको अभिनय गर्छु,
तिमी मुस्कुराएको अभिनय गर !
पेटमा पटुका कसौँला
म भात पस्किएको अभिनय गर्छु
तिमी भात खाएको अभिनय गर
छक्क परोस् यो पेट र
कर लागोस् भोक हराएको अभिनय गर्न
साँच्चै
आज भात पाक्दैन छोरा !

Facebook Comments Box

Similar Posts