माघ ७, काठमाडौं । चर्चित साहित्यकार प्रदीप सापकोटाको यात्रा संस्मरण ‘यात्राको लय’ को दोस्रो संस्करण सार्वजनिक गरिएको छ । बुधबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा प्रा.डा. लक्ष्मणप्रसाद गौतम, साहित्यकार ओम श्रेष्ठ रोदन, प्रमोद प्रधान, डा. सृजना शर्मा, लेखनाथ हुमागाईं, छविरमण सिलवाल, प्रकाशक केशव पराजुली तथा कृतिकार स्वयं प्रदीप सापकोटाद्वारा संयुक्त रुपमा उक्त कृति सार्वजनिक गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै लक्ष्मणप्रसाद गौतमले यात्रा संस्मरण वा नियात्रा लेख्दा लेखकले ढाँट्न नपाउने बताए। उनले भने, “लेखकले सधैं सत्यतथ्यमा आधारित रहेर निबन्धात्मक शैलीमा यात्रा संस्मरण प्रस्तुत गर्नुपर्छ। प्रदीप सापकोटा आफ्नो कृतिमा पूर्ण इमान्दारिता देखाएका छन् ।” गौतमले पछिल्लो समय नियात्रा लेखनमा केही विकृति देखिएको भन्दै लेखकहरूले सिर्जनाको स्तरीयतामा ध्यान पुर्याउनुपर्नेमा जोड दिए।
साहित्यकार तथा समीक्षक प्रमोद प्रधानले कृतिको समीक्षा गर्दै यात्रा निबन्ध, नियात्रा र यात्रा संस्मरणबीचको भिन्नतालाई स्पष्ट पारे । उनले भने, “यात्रा निबन्धमा चित्रात्मक गति हुनुपर्छ। प्रदीप सापकोटाको यात्रा संस्मरणमा त्यस किसिमको गति र रमाइलो दृष्टिकोण स्पष्ट देखिन्छ । पाठकले यात्रामा आफूलाई सहभागी महसुस गर्न सक्ने छन् ।”
अर्की समीक्षक डा. सृजना शर्माले कृतिका विशिष्ट पक्षलाई उल्लेख गर्दै पाठकलाई मेचीदेखि महाकाली मात्र नभएर सीमापारिको दार्जिलिङसम्म घुमाएको अनुभव गराएको बताइन्। यसले सापकोटाको यात्रा संस्मरणलाई स्थानीय तथा अन्तर्राष्ट्रिय स्थलहरूको समृद्ध चित्रणले भरिएको कृति बनाएको उनको भनाइ थियो।
साहित्यकार ओम श्रेष्ठले नियात्रा यथार्थको आधारमा उभिएर लेखिनुपर्ने बताए। उनका अनुसार, “पछिल्लो समय यात्रा साहित्यमा लेखक मात्र नभई पाठक पनि बढ्दैछन्। सापकोटाका कृतिहरू निजात्मक भावले ओतप्रोत छन् र पाठकलाई गहिरो अनुभूति दिलाउँछन्।”
कार्यक्रममा सुनकोसी वाङ्मय प्रतिष्ठानका प्रकाशक केशव पराजुली, साहित्यकार पवन आलोक, किशोर पहाडी, लेखनाथ हुमागाईं, राधेश्याम लेकाली, तारा केसी र छविरमण सिलवालले पनि आफ्ना धारणा प्रस्तुत गरे। सहभागीहरूले कृतिको शैली, साहित्यिक मूल्य र पाठकलाई दिने अनुभवबारे चर्चा गरे।


