राजन कुँवर
छेपारा अनि मन्थरा मुलुकका मट्टी चुसी बाँचने
त्यागे लौ अहमी प्रजा र जनमा आशा खुबै बाँडने
यो साम्राज्य हुने छ यो कलमको माधुर्य साथै लिई
मौका साहस ओहदा गरिबमा उत्थान यात्रा दिई ।
खोक्रो श्रीहिन हैन लौ कलम यो बेठी बजाईकन
नौलो आँचल फव्रिmई प्रकृतिको बन्छन् नयाँ जीवन
लक्ष्मी शीर भई हलो र वनमा बीभत्स बन्छन् जुन
गर्ने छन् रचना तिनै मनुजले सक्छन् रिमालै हुन ।
बेगारी नभई विकास प्रगती बालेर जित्को दियो
सेवाको हतियार पो कलम यो आषाढ डाक्ने मियो
कोर्दै लक्ष्मणरेख दुष्ट पशुमा मासेर भ्रष्टै कला
नेपाली इतिहासका प्रहरमा बन्ने छ याद्गार् पला ।
आद्योपान्त समेत सृष्टि जनको लेख्ने भयो साधन
सेतीझैँ ममता अजेय मनको बाँड्ने यही चाँदन
यो रैती दुनियाँ हिमालय बनी बिच्छी उदाए पनि
आयो लौ बटुली हरा कलम यो देवाधिदेवी बनी ।
कोर्छन् डाँक गरी सुकार्य जसले उन्कै सिँयाली गरी
अर्पी दिन्छु उनै महापुरूषमा नासो म यो ज्यू परी
डुब्नैपर्छ दिगम्बरै बनी अहो ठण्डा हिमै तालमा
लेख्दैनन् पक्षमा बुझे शकुनि हो, पर्छाै तिमी जालमा ।
हे ! आरोग्य बनी अझै अवनिको यो खोकिला लुट्दछौ
लुट्नै देश प्रजा बनाइ चकला फुट्दै अरे जुट्दछौ
हे ब्वाँसा पशु सावधान इलमी औजार मेरो छ नि
हाल्छन् स्वर निशब्दिका कहरमा नौला भरोसा बनी ।