असार ३१, काठमाडौं । शब्दयात्रा प्रकाशनले साहित्यकार तथा साहित्यसेवी अरुणबहादुर खत्री ‘नदी’ (तनहुँ)लाई २०८३ सालको ‘शब्दयात्रा सूर्यप्रसाद श्रेष्ठ कर्मशीलता पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ। पुरस्कार साउन १६ गते शनिबार आयोजित विशेष कार्यक्रममा प्रदान गरिने प्रकाशनले जनाएको छ।
सरकारी सेवामा करिब तीन दशकसम्म कार्यरत रहनुभएका खत्रीले साढे चार दशकदेखि निरन्तर साहित्यिक क्षेत्रमा सक्रिय योगदान दिँदै आउनुभएको छ। उहाँले विभिन्न पुस्तकहरूको समीक्षा, स्रष्टाहरूको जीवनी लेखन तथा कविता, निबन्ध, समालोचना लगायत विविध विधामा सिर्जनात्मक लेखनमार्फत नेपाली साहित्यलाई समृद्ध बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ।
शब्दयात्रा प्रकाशनका अनुसार साहित्य, समालोचना र जीवनी लेखनमा उहाँले देखाउनुभएको दीर्घकालीन कर्मशीलता र समर्पित योगदानको कदरस्वरूप यो पुरस्कार प्रदान गर्न लागिएको हो। पुरस्कारको कोष व्यवस्थापन पूर्वप्रशासक तथा कूटनीतिज्ञ सूर्यप्रसाद श्रेष्ठले गर्नुभएको हो।
पुरस्कार ग्रहण गर्न स्वीकृति प्रदान गर्नुभएकोमा शब्दयात्रा प्रकाशनले अरुणबहादुर खत्री ‘नदी’प्रति हार्दिक आभार व्यक्त गर्दै आगामी कार्यक्रममा उहाँको सम्मानले साहित्यिक क्षेत्रलाई थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेको छ।


