भदौ २, काठमाडौँ । थाइल्याण्डका नेपाली आप्रवासीहरूको कथा समेटिएको पुस्तक ‘थाइल्याण्डमा नेपालीहरूको इतिहास’ लोकार्पण गरिएको छ । संस्कृतिविद डा. जगमान गुरुङले पुस्तकको लोकार्पण गरेका हुन् ।

प्रवासमा नेपालीले कला र संस्कृतिलाई बढी महत्त्व दिएको बताउँदै उनले म्यानमार, थाइल्याण्ड, दार्जिलिङमा बसोबास गर्ने नेपालीमा देखिएको संस्कृतिप्रतिको सद्भाव नेपालमा भने पछिल्लो समय घटिरहेको बताए ।

‘यहाँ ठेट नेपाली बोल्नेमा कमी देखिएको छ । हामीले नेपाल बाहिर रहनुभएका नेपालीबाट सिक्नु जरुरी छ,’ उनले भने, ‘ठेट नेपाली शब्दको प्रयोग गर्नुलाई अन्य भाषाको ज्ञान नभएको रूपमा बुझ्नु भएन ।’ आप्रवासी नेपालीहरूको यस्तै गतिविधिले यहाँ झक्झक्याउने उनले बताए ।

कार्यक्रममा संघकी अध्यक्ष वासाना राईले नेपालमा आएर पुस्तक नेपाली र अंग्रेजी भाषासँगै तस्बिर कथामा लोकार्पण गर्न पाउँदा निकै खुसी लागेको बताइन् । ‘यो पुस्तकले थाइल्याण्ड र म्यानमारमा रहेका नेपालीको अवस्थाबारे जानकारी दिन्छ,’उनले भनिन्, ‘देशबाहिर रहेर पनि यहाँको संस्कृतिप्रतिको लगावलाई दर्शाउँछ । यो हाम्रो अनुभूति हो ।’

पुस्तकका लेखक तथा अनुसन्धानकर्ता रमेश खड्काले ८० वर्षको पुरानो इतिहासलाई पुस्तकमा समेट्न पाउँदा गौरव महसुस गरेको बताए । यसलाई महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएको उनको भनाइ छ ।

थाइल्याण्डमा नेपाली आप्रवासीको मौखिक इतिहासमा सीमित कुरालाई लिखित दस्तावेजको रूपमा बाहिर ल्याएको उनले बताए ।

कार्यक्रममा पूर्वराजदूतहरू डा. दिनेश भट्टराई, डा. खगनाथ अधिकारी, संघका पूर्वअध्यक्ष कुमार कार्की, गायक आनन्द कार्की, गायिका इन्दिरा जोशी, अभिनेत्री दीपाश्री निरौला, अभिनेता किरण केसी, निर्मल शर्मा, जितु नेपाललगायत उपस्थित थिए ।

Facebook Comments Box

Similar Posts