असार २३, ललितपुर । लेखक, कवि तथा साहित्यकार कृष्ण प्रधानद्वारा लिखित अनुसन्धानमूलक कृति ‘निजी क्षेत्रका नेपाली साहित्यिक पत्रकारिताको वर्तमान स्थिति’ को लोकार्पण समारोह महालक्ष्मी नगरपालिका–९, लामाटारमा सम्पन्न भएको छ ।
लालित्य सिर्जना समाजको आयोजनामा सम्पन्न कार्यक्रममा जनमत पत्रिकाका सम्पादक मोहन दुवाल प्रमुख अतिथि तथा महालक्ष्मी नगरपालिका–९ का वडा अध्यक्ष जयकृष्ण बोगटी विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
समारोहको स्वागत मन्तव्य समाजका अध्यक्ष बुद्धिमान महर्जनले व्यक्त गर्नुभयो। उहाँले उपस्थित सम्पूर्ण अतिथि तथा सहभागीहरूलाई स्वागत गर्दै उनीहरूको उपस्थितिलाई संस्थाको उत्साह, ऊर्जा र सफलताको आधार भएको बताउनुभयो। साथै अनुसन्धानमूलक कृतिले नेपाली साहित्यिक पत्रकारिताको इतिहास, योगदान, वर्तमान अवस्था तथा भविष्यको दिशाबोध गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
उहाँले पुस्तक केवल अक्षरहरूको सङ्ग्रह मात्र नभई समयको दस्तावेज, समाजको स्मृति र भावी पुस्ताका लागि ज्ञानको आधार भएको उल्लेख गर्दै नेपाली साहित्यिक पत्रकारिताप्रतिको सम्मान र उत्तरदायित्व अभिवृद्धि गर्न यस्ता कृतिको आवश्यकता औँल्याउनुभयो।
कार्यक्रममा लेखक कृष्ण प्रधानले लालित्य सिर्जना समाजलाई आफ्ना कृतिका ५० प्रति पुस्तक हस्तान्तरण गर्नुका साथै लोकार्पण कार्यक्रमका दिन बिक्री भएका सम्पूर्ण पुस्तकको रकम संस्थालाई प्रदान गर्ने घोषणा गर्नुभयो।
कार्यक्रममा किशोर पहाडी, वियोगी बुढाथोकी, नगेन्द्रराज शर्मा, रोचक घिमिरे, रामप्रसाद पन्त, धीरकुमार श्रेष्ठ, ठाकुर शर्मा भण्डारी, खेम कोइराला बन्धु, जयदेव भट्टराई लगायत विभिन्न साहित्यिक पत्रिकाका सम्पादकहरू, वरिष्ठ साहित्यकार, सञ्चारकर्मी तथा बुद्धिजीवीहरूको सहभागिता रहेको थियो।
आयोजकले कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने महालक्ष्मी नगरपालिका-९ वडा कार्यालय, पदाधिकारी, आजीवन सदस्य, सहयोगी संस्था, सञ्चारकर्मी तथा सम्पूर्ण साहित्यप्रेमीहरूप्रति धन्यवाद ज्ञापन गरेको थियो।


