२८ माघ, काठमाडौँ । साहित्यिक पत्रिका: वर्तमान अवस्था र चुनौती बिषयक अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । रघुजी पन्तको संयोजकत्वमा यलमाया केन्द्र, पाटनमा आयोजित कार्यक्रममा साहित्य विशेष पत्रिकाहरुले वर्तमान समयमा भोग्नुपरेको समस्या र चुनौतीहरुका बारेमा व्यापक छलफल गर्दै यस बिषयमा गर्नुपर्ने कार्यहरुका बारेमा विभिन्न वक्ताहरुले आफ्ना धारणा राखेका थिए ।
कार्यक्रमका संयोजक रघुजी पन्तले साहित्यिक पत्रपत्रिकाहरुको अवस्था हाल नाजुक रहेको कुरा औल्याउँदै त्यसका निम्ति ठोस कार्यहरु गर्नुपर्ने विचार राख्नुभएको थियो । शब्दाङ्कुर साहित्य प्रधान मासिकका प्रधान सम्पादक धीरकुमार श्रेष्ठले साहित्यिक पत्रपत्रिकाहरुलाई बिक्रीवितरणको ठुलो समस्या रहेको बताउनुभयो । उहाँहरुले पत्रिकाहरुलाई अझै पनि धेरै पाठकहरु सम्म पुर्याउन नसकिएको अवस्था औल्याउँदै सबैको त्यसतर्फ ध्यान जानुपर्ने बताउनु भयो । “अहिले पनि पाठक भए सम्म पत्रिका नपुग्ने र पत्रिका भएका ठाउँमा पाठक पुग्न नसक्ने विडम्बनापूर्ण अवस्था रहेको छ ।” उहाँले थप्नुभयो । श्रेष्ठले एक स्थानीय तह एक पुस्तकालय स्थापना गरिनुपर्ने, राष्ट्रिय पुस्तकालयमा साहित्यिक पत्रपत्रिकाहरुलाई उपलब्ध गराउनुपर्ने, हुलाक सेवा विभागले पत्रपत्रिकाहरुलाई सम्बन्धित स्थानमा पुर्याउनुपर्ने जस्ता कुराहरु जोड दिनुभयो । उहाँले अझै पनि लेखकहरुलाई पारिश्रमिक दिन नसकेको, प्रेस काउन्सिल र प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित हुने सुचना सबै समक्ष पुर्याउन नसकिएको जस्ता समस्याहरु तर्फ ध्यानाकर्षण हुनुपर्ने धारणा राख्नु भयो ।
लेखक तथा साहित्यकार एवं जनमत मासिकका प्रधानसम्पादक मोहन दुवालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा जयदेव भट्टराई(मधुपर्क मासिक), अच्युत घिमिरे(आलेख साहित्यिक मासिक), रामेश गौतम (सुनगाभा पत्रिका), धीरकुमार श्रेष्ठ (शब्दाङ्कुर साहित्यप्रधान मासिक), बासुदेव अधिकारी(शब्द संयोजन मासिक), दीपक अर्याल(मदन पुस्तकालय), रामप्रसाद पन्त(दायित्व पत्रिका) पवन आलोक(अभिव्यक्ति साहित्यिक पत्रिका), चेतनाथ धमला(कौशिकी पत्रिका), होमशंकर बास्तोला(अन्तर्बोध त्रैमासिक), गोविन्द घिमिरे(शब्दाङ्कुर साहित्यप्रधान मासिक), तुलसी कन्दङ्वा(शब्दाङ्कुर साहित्यप्रधान मासिक), शार्दुल भट्टराई(भृकुटी जर्नल), निबन्ध आचार्य(कपन बानेश्वर साहित्य साप्ताहिक), गायत्रीकुमार चापागाईं(सङ्गम अभियान), चेतनारायण राई, विनयकुमार शर्मा (बैजयन्ती पत्रिका), बाबुकृष्ण भेटुवाल, गायत्री विष्ट लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।