असोज २, काठमाडौँ । बालसाहित्य सर्जक विजयराज आचार्यको किशोर कथासंग्रह ‘मत्स्यकन्या’ हालै बजारमा आएको छ । संग्रहमा तनहुँ, बन्दीपुर र आबुखैरेनी आसपासका मिथक, इतिहास, सम्पदा र प्रकृतिसँग जोडिएका दश कथा समावेश छन् ।

पुस्तकका कथाले तनहुँका धार्मिक, प्राकृति एवं पर्यटकीय स्थलबारेको जानकारी दिनुका साथै त्यहाँका विभिन्न ठाउँको इतिहासबारे जानकारी दिएका छन् । बालसाहित्य सर्जक आचार्यले तनहुँका विभिन्न धार्मिक एवं पर्यटकीय स्थलहरुको भ्रमण गर्नुका साथै पाका मानिसहरुलाई भेटेर त्यहाँका पुराना कुराहरुबारेको जानकारी खोजेर पुस्तक तयार पारेका हुन् ।

पुस्तकमा आदिमूल, छिम्का लेक, सिद्ध गुफा, मत्स्यकन्या, तामाखानी, भूतले बिराएको खेत, पद्‌म पुस्तकालय, शहीदगाथा, संन्यासी राजा, खड्गदेवी शीर्षकका कथाहरु छन् । कथाहरुमा तनहुँका लोककथा, मिथक र राणाशासन फाल्दाको जनविद्रोह सम्मका कुराहरु अटाएका छन् । त्यसका साथै प्राकृतिक सम्पदादेखि सांस्कृतिक सम्पदाको स्थापनासम्मका कुराहरु पनि यसमा संकलित छन् ।

बालसाहित्य सर्जक नेत्र तामाङले सम्पादन गरेको पुस्तकको भाषा वरिष्ठ बालसाहित्य सर्जक प्रमोद प्रधानले गरेका छन् । किताबमा युवक श्रेष्ठका आकर्षक चित्रहरु समावेश छन् । बिएस बुक्सले बजारमा ल्याएको यस रंगिन पुस्तकको बजार मूल्य ६५० रुपैयाँ रहेको छ ।

Facebook Comments Box

Similar Posts