२६ फागुन, काठमाडौँ । साहित्यिक पत्रिका वर्तमान अवस्था र चुनौती बिषयक दोस्रो चरणको छलफल तथा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । रचना पत्रिकाका प्रधान सम्पादक रोचक घिमिरेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा कार्यक्रमका संयोजक रघु पन्तले स्थानीय निकायहरुले पत्रपत्रिकाको प्रवर्द्धन गर्न विशेष कार्यक्रम ल्याउन आवश्यक रहेको कुरामा जोडदिनु भयो । “नेपाली बाहेक, स्थानीय भाषामा प्रकाशन हुने साहित्यिक पत्रीकाहरुलाई प्रवर्द्धन गर्न स्थानीय सरकारले सहयोगात्मक भुमिका खेल्न आवश्यक छ ।” पन्तले भन्नुभयो । उहाँले पत्रपत्रिकाका लागि विज्ञापन दान होइन अधिकार हो भन्ने कुरा बुझाउनु पर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा अर्का अतिथि जनमत साहित्यिक मासिकका प्रधान सम्पादक मोहन दुवालले साहित्यिक पत्रकारहरुले केवल समस्यामा रुमलिएर बस्ने नभई आफ्नो अधिकारको कुरा उठाउनु पर्नेमा जोड दिनुभयो । “सबै तह तप्का र क्षेत्रका सरोकारवालाहरुले आ-आफ्ना अधिकारका सवाल उठाइरहेको सन्दर्भमा साहित्य पत्रपत्रिका सम्बद्धहरुले समेत आफ्नो अधिकारका बारेमा बोल्नुपर्ने समय आएको छ ।” उहाँ थप्नुभयो । उहाँले हरेक स्थानीय तहहरुमा अध्ययनशाला स्थापना गर्नुपर्ने र त्यस्ता अध्ययनशालाहरुमा साहित्यिक पत्रपत्रिकाहरु उपलब्ध गराउनुपर्ने बताउनु भयो । कार्यक्रमका अध्यक्ष घिमिरेले साहित्यिक पत्रपत्रिकाहरुको प्रवर्द्धन र विकासका लागि सरकारले सहयोग र प्रोत्साहन गर्नुपर्ने कुरामा जोडदिनु भयो । अब साहित्यिक पत्रकारहरुले आफ्ना अधिकारका बारेमा बोल्नुपर्ने समय आयो उहाँले बताउनुभयो थप्नुभयो ।

साहित्य पोस्ट अनलाइनका प्रधान सम्पादक अश्र्विनी कोइरालाले साहित्य पत्रपत्रिकाहरुले प्रविधि मैत्री बन्दै अधिकतम पाठकहरु सम्म पुग्नुपर्ने बताउनु भयो । “अब साहित्य विशेष पत्रपत्रिकाहरुले पनि बिस्तारै डिजिटलाइजेसन जानपर्ने आवश्यक हुन्छ ।” उहाँले थप्नु भयो ।

म्यानमारबाट आएकी सहभागी सरगम धितालले म्यानमारमा नेपाली भाषा र साहित्यलाई विकास र प्रवर्द्धन गर्न चुनौतीपूर्ण रहेको बताउनुभयो । “अहिले म्यानमारमा बसोबास गर्ने नेपाली भाषी समुदायका बालबालिकाहरुलाई नेपाली भाषा कसरी सिकाउने समस्या रहेको छ । त्यसैले नेपाली भाषा क्रमस संकटमा पर्दै गएको देखिन्छ ।” धितालले बताउनु भयो ।
उहाँले म्यानमारमा नेपाली भाषा तथा साहित्य बिशेष पत्रपत्रिका कसरी प्रकाशन गर्ने भन्ने सम्बन्धमा पर्याप्त ज्ञान र दक्षता भएका जनशक्तिको पनि अभाव रहेको बताउनुभयो । कार्यक्रममा वैजयन्ती पत्रिकाका सम्पादक विनय शर्मा नेपालले पनि आफ्नो धारणा राख्नु भएको थियो । साहित्यकार एवं समालोचक डा. विन्दु शर्माको समेत उपस्थिति रहेको उक्त कार्यक्रमको संचालन राजेश थापाले गर्नुभएको थियो ।

कार्यक्रममा धीरकुमार श्रेष्ठ(शब्दाङकुर साहित्यप्रधान मासिक), रामप्रसाद पन्त(दायित्व पत्रिका), ईन्द्रकुमार श्रेष्ठ ‘सरित'(अयन पत्रिका), बसन्तराज रिजाल(एबिसी न्युज), राजेन्द्र प्रसाद तिवारी(डिजिटल खबर), निबन्ध आचार्य(कपन बानेश्वर राष्ट्रिय साहित्यिक साप्ताहिक), गायत्रीकुमार चापागाईं(संगम अभियान), राजेशमान केसी(कल्पतस), नवराज रिजाल(नवप्रज्ञापन मासिक), गोविन्द घिमिरे(शब्दाङकुर साहित्यप्रधान मासिक), समिर नेपाल(डिजिटल खबर), टेकेन्द्र चेम्जोङ(शब्दाङ्कुर साहित्यप्रधान मासिक) लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रम चावहिल स्थित चारुमति बिहार नजिकैको एक कक्षमा सम्पन्न भएको थियो । यस अघि सम्पन्न पहिलो चरणको छलफल कार्यक्रम भने गत माघ २७ गते पाटनको यलमाया केन्द्रमा आयोजना गरिएको थियो ।

 

Facebook Comments Box

Similar Posts