बैशाख १६, पोखरा । गण्डकी प्रज्ञा प्रतिष्ठानले विभिन्न विधाका सात स्रष्टालाई सम्मान गरेको छ। आफ्नो दोस्रो वार्षिकोत्सवको अवसर पारेर प्रतिष्ठानले कार्यक्रम गरी सम्मान गरेको हो ।
कास्कीका स्रष्टा तीर्थ श्रेष्ठलाई गण्डकी प्रज्ञा संस्कृति सम्मान, पर्वतका स्रष्टा शान्तिनारायण श्रेष्ठलाई गण्डकी प्रज्ञा साहित्य सम्मान, स्याङजाका स्रष्टा अम्मर गुरुङ पोखरेलीलाई गण्डकी प्रज्ञा संगीतिक सम्मान र तनहुँका स्रष्टा आलोक गुरुङलाई गण्डकी प्रज्ञा कला सम्मान प्रदान गरिएको हो। सबैलाई एक लाख रुपैयाँ प्रदान गरियो ।
यस्तै गण्डकी प्रज्ञा प्रतिष्ठान नारी सम्मानबाट लमजुङकी माया गुरुङ सम्मानित भएकी छिन्। उनलाई नगद ५० हजार रुपैयाँसहित सम्मान पत्र र दोसल्लाले सम्मान गरिएको छ। गण्डकी प्रज्ञा युवा सम्मानबाट मोती बहादुर कार्की परिवर्तन र लक्ष्मी थापा सम्मानित भएका छन्। उनीहरूलाई नगद २५ हजार रुपैयाँसहित सम्मान गरिएको हो ।
प्रतिष्ठानका कुलपति बिखर्चीको संयोजकत्वमा गठन भएको छनोट समितिले उनीहरूलाई छनोट गरेको हो। छनोट समितिमा वरिष्ठ कलाकार दुर्गा बराल वात्स्यायान, वरिष्ठ लोक दोहोरी गायिका प्राज्ञ हरिदेवी कोइराला, प्रतिष्ठानका उपकुलपति गोरे गुरुङ र सदस्य सचिव मनकुमार श्रेष्ठ सदस्य थिए ।
साहित्यका सबै विधालाई महत्त्वका साथ स्थान दिँदै तिनको संरक्षण तथा प्रवर्द्धन गर्ने काम गरिरहेको प्रतिष्ठानले यो वर्ष थप केही महत्त्वपूर्ण कार्य गरेको छ। गण्डकी प्रदेशको नाट्य क्षेत्रलाई लक्षित गरेर ‘गण्डकी नाट्यदर्पण’ प्रकाशन गरेको प्रतिष्ठानले गण्डकी प्रदेशका विभिन्न जिल्लाका २८ जना स्रष्टाको जीवनी तयार पारेको छ। परम्परागत गीत संरक्षणको र स्रष्टा स्वास्थ्य बिमा कार्यक्रमको समेत थालनी गरेको छ ।
प्रतिष्ठानको स्थापना २०७८ साल वैशाख १५ गते भएको थियो ।