सागर फुयाल
(हाल बर्लिन, जर्मनी)
जब बाटोहरू सहज लाग्छन्
भेटिएका सबै असल लाग्छन्
निस्फीक्री भएर एउटा बेगमा हिंड्दै गर्दा
जब ठेस लाग्छ
भुईँ छोडेर ठडिएको ढुंगामा
अनि सम्हालिएर हिंड्छन् बुझ्नेहरू
आभारी हुँन्छन तिनै अल्झाउने ढुंगा प्रति
साक्षात्कार हुँन पाउँदा त्यसको बिथोल्ने तागतसँग !
खोलाको कलकल धुनमा रमाई
त्यसको लहरको खेलमा हराई
गहिराईलाई विश्वास गरी
तर्न भनेर त्यो बिचमा पुग्दा
जब धारमा फस्छन्
अनि किनारमा पुग्छन् जोगिन सक्नेहरू
आभारी हुँन्छन् तिनै नदेखिने धार प्रति
साक्षात्कार हुँन पाउँदा त्यसको अदृष्य तागतसँग !
शीतल वतासमा मन मुग्ध भई
झरनाको झंकारमा तरंगीत बनी
निलो आकास हेर्दै बितेका जीवनहरू
जब घरको छाँनाँ उडाउने गरी
आएको आँधीको
देख्छन् विनाशका लीलाहरू
अनि जुटछन् हिम्मत नटुट्नेहरू
छाँउँने छन् नयाँ छाँनाँहरू
ज्ञान लिई विनाशबाट
आभारी हुँन्छन त्यही अराजक आँधी प्रति
साक्षात्कार हुँन पाउँदा मैमत्त त्यसको तागतसँग !