प्रेम नेउपाने ‘प्रहर’
(रूम्तेक, सिक्किम, भारत)
सिमलको भुवाजस्तै हावामा
उड्दै…उड्दै…उड्दै…उड्दै
भुइँमा झरेको होइन म हजुर
म त कसैको कोखबाट जन्मिएर
कछुवाजस्तै
घस्रदै घस्रदै घस्रदै
हिमाल चढने प्रयास हो मेरो ।
नसोध मलाई मेरा सङ्घर्षका कथाहरु
मेरा पसिनाहरु
भुलुक्क उम्लिएर पोखिएका होइनन्
आगोमा बसाएको दुधजस्तै
यी रगतका थोपाहरु
अनियन्त्रित मच्छडहरुले निकालेका होइनन्
यी पसिनाका थोपाहरु
यी रगतका थोपाहरु
सधैँ व्यस्तताका
सधैँ बाध्यताका
सधैँ कठिनाइका
इतिहास लेख्न तत्पर छन् ।
नपत्याउने भए हेर
कुर्कुच्चा छेड परेका उही चप्पलहरु
नभए हेर
नाम्लोले पिल्साएका तालु र केशहरु
हेर कोप्रा परेका डोका र थुन्सेहरु ।
तिमीजस्तै आलिसान महलका छतमा
वर र पर घुम्न जान्दछु म पनि
गोलमेचमा सजिएका पिज्जा र बर्गर
खान जान्दछु म पनि
तर
आडम्बरको त्यो छतभन्दा मलाई
खेतका गरा र बारीका पाटा नै
सर्वश्रेष्ठ लाग्छ
पिज्जा र बर्गरभन्दा
कोदो फापरको रोटी नै
भरपर्दो लाग्छ ।