• गोविन्द पौडेल

अल्गोरिदमभित्रको जटिलता
पाणिनि बाजेकै पालादेखिको हो
उहिले बाज्याको पालामा
पैसा गन्थे डालामा
कथा सुनाउँथिन् बोजु
ए ठेट्ना हो
के जुग आयो यो बाबै !

छातीभित्र मुटु हुन्थ्यो उहिले
आँखाभित्र पानी हुन्थ्यो उहिले
मुखभित्र शारदा हुन्छिन्
खुट्टो चरणकमल !

हामी त लास्टै लाटा रैछुम् भाइ
जुगले भुलेको कथासँगै
बोजु पनि अस्ताएर गैसकिन्
जून जस्तै बिलाएर गैसकिन्
भाइ हो !
धर्म, कर्म, इजेत, बेजत सबै सबै
खै कुन्नि केको तरङ्गभित्र छ भन्छ
डेटाको डमरूभित्र छ भन्छ
अँ, अब लुकाउनुपर्ने केही छैन
छोप्नुपर्ने केही छैन
पब्लिक हो सबै सबै

रहरै नाथे पनि कति कति
आइटम आइटममा छ भोजभतेर
पैसो नि चाइन्न
रिन गर्न सिके पुग्छ
दाउरा, वन अनि भाले नभए नि हुन्छ !

प्लास्टिकको आगो
प्लास्टिकको दाल
प्लास्टिकको भाले
प्लास्टिकको कार्ड
प्लास्टिकको रिन

मैले सकिनँ बज्यै !
यो जुगको मेलोडी समात्न
माटो सकिएको धरती
म टेकूँ कसरी ?
बाटो हराएको पिरती
म देखूँ कसरी ?

Facebook Comments Box

Similar Posts