साउन २०, काठमाडौँ । डा. शेखरकुमार श्रेष्ठद्वारा सम्पादित ‘सिर्जनशील किशोर पहाडी’ पुस्तक लोकार्पण तथा साहित्यकार तथा रङ्गकर्मी किशोर पहाडीको सम्मान कार्यक्रम सम्पन्न भयो । सुसेली साहित्यिक प्रतिष्ठान, दक्षिणकालीले आयोजना गरेको सो कार्यक्रममा पहाडीलाई नगद रु ५,५५५/-सहित फर्पिङ स्रष्टा सम्मान २०८० प्रदान गर्नाका साथै ‘सिर्जनशील किशोर पहाडी’ पुस्तक लोकार्पण गरिएको थियो । पुस्तकलाई दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेत, उप्रमुख वसन्ती तामाङ डङ्गोल, वडा नं ६ का वडाध्यक्ष शैलेश मानन्धर, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति डा. विष्णुविभु घिमिरे, साहित्यकार विश्वविमोहन श्रेष्ठलगायतले लोकार्पण गरेका थिए ।
कार्यक्रममा शैलेश मानन्धरले स्वागत मन्तव्य राख्नुभएको थियो भने अप्सरा भुर्तेलले पहाडीको जीवनीका बारेमा बोल्नु भएको थियो ।साहित्यकार विश्वविमोहन श्रेष्ठ र डा. विष्णुविभु घिमिरेले पहाडीको व्यक्तित्वसम्बन्धी चर्चा गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि बस्नेतले दक्षिणकाली नगर साहित्यिक भूमि बनाउनका लागि सुसेली साहित्यिक प्रतिष्ठानको सहकार्य अझ बढाउने मन्तव्य राख्नुभएको थियो भने विशिष्ट अतिथि तथा उपप्रमुख वसन्ती तामाङ डङ्गोलले सुसेली साहित्यिक प्रतिष्ठानका कारण आफूलाई पनि कविता लेख्न मन लागेको भन्दै प्रतिष्ठानलाई निरन्तर सहयोग गर्ने कुरा बताउनुभएको थियो । अर्का अतिथि डा. विष्णुविभु घिमिरेले साहित्यकारले राजनीति गर्न सक्ने तर राजनीतिककर्मी साहित्यकार बनाउन नसक्ने भन्दै दक्षिणकाली नगरपालिकाको कार्य अरु नगरपालिकालाई पनि अनुकरणीय भएको कुरा बताउनुभएको थियो । त्यस्तै साहित्यकार विश्वविमोहन श्रेष्ठले साहित्यकार पहाडीलाई गरेको सम्मानले अरुलाई पनि साहित्य सिर्जना गर्न प्रेरणा मिलेको बताउँदै पहाडीको साहित्यिक अनुभव बताउनुभएको थियो ।
साहित्यकार पहाडीलाई जननेत्र पुस्तकालय, श्रीकृष्ण मावि, त्रिभुवन आदर्श माध्यमिक विद्यालय, त्रिभुवन आदर्श माध्यमिक विद्यालय पूर्व विद्यार्थी समाज, दक्षिण भेगीय सहकारी समन्वय समिति, गोपालेश्वर सामुदायिक सहकारी, नेक्स्ट जेनेरेसन स्कुल, गोपालेश्वर क्षेत्र प्रबन्ध समाज, शिखरापुर क्याम्पस, कोटालटोल विकास संस्था, डिकुबहाल टोल विकास संस्था लगायत १७ संस्थाहरुले समेत सम्मान गरेका थिए । साँस्कृतिक बाजागाजा र र्यालीसहित शुरु भएको कार्यक्रम आवेश मिश्रको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको संयोजन रामराजा केसीले गरेका थिए । कार्यक्रममा सुभाषचन्द्र पौडेल, ध्रुव मधिकर्मी, लता केसी, शेखर अर्याल, धनवन्तरी मिश्र(कात्यायन), रमेश सुवेदी, लगायत साठी जना स्रष्टाको उपस्थिति रहेको थियो ।
वि सं २०२८ सालबाट साहित्यिक लेखन शुरु गरेका पहाडी प्रयोगवादी कथाकारका रुपमा परिचित छन् । हालसम्म उनका विभिन्न विधामा लेखिएका सत्र कृति प्रकाशित भइसकेका छन् । उनको ‘विशुदाइ’ कथासङ्ग्रहले २०४५ सालको साझा पुरस्कार समेत प्राप्त गरेको थियो ।