वैशाख २५, काठमाडौँ । वर्तमान कविता समूह र रातोघर फाउन्डेसनको संयुक्त आयोजनामा भाषा दिवसको अवसर पारेर सम्पन्न ‘मातृभाषा कविता गोष्ठी’ विविध भाषिक स्वर, सांस्कृतिक चेतना र समकालीन संवेदनाले भरिएको विशेष साहित्यिक समारोहका रूपमा सम्पन्न भएको छ। नेपाली, नेपाल भाषा र तामाङ भाषासहित विभिन्न मातृभाषाका कविहरूको सहभागिताले कार्यक्रमलाई बहुभाषिक सहअस्तित्व र सिर्जनात्मक अभिव्यक्तिको साझा मञ्च बनाएको थियो। मातृभाषा र बहुभाषिकताको संरक्षण सांस्कृतिक विविधताको आधार भएको चर्चा विभिन्न कार्यक्रममा हुँदै आएको छ।

कार्यक्रमको प्रारम्भ हालै दिवंगत भएका नेपाल भाषाका कवि, निबन्धकार, पत्रकार तथा भाषा आयोगका सदस्य सुरेश किरण मानन्धर तथा प्रख्यात साहित्यकार पारिजात को स्मरण गर्दै गरिएको थियो। कार्यक्रममा मातृभाषा केवल संवादको माध्यम नभई समुदायको इतिहास, संस्कृति र अस्तित्वको आधार भएको धारणा व्यक्त गरिएको थियो।

कवि राजेन्द्र शलभ ले “किताब र नाता” कविता वाचन गर्दै मानिस र पुस्तकबीचको आत्मीय सम्बन्धलाई सूक्ष्म संवेदनासहित प्रस्तुत गरे। भीष्म उप्रेती को “आगो” ले समयको अस्थिरता र सामाजिक तापलाई तीव्र रूपमा अभिव्यक्त गर्‍यो। अनुवादक रश्मी शर्मा ले आफूले हिन्दीमा अनुवाद गरेको पुस्तक उजालेके संग बाट स्नेह सायमी को “कठपुतली” तथा राजेन्द्र शलभ को “माँ” शीर्षकका कविता वाचन गर्दै भाषाबीचको साहित्यिक सम्बन्धलाई थप अर्थपूर्ण बनाइन्। कवि विश्व सिग्देल ले “वृक्षरेखा पूर्णविराम थियो” शीर्षकको कविता वाचन गर्दै जलवायु संकट र प्रकृतिमाथि बढ्दो मानवीय हस्तक्षेपप्रति गहिरो चिन्ता व्यक्त गरे। ईश्वर थोकर ले तामाङ भाषामा “राला मिनरि” कविता सुनाए भने अनिता लामा ले नेपाल भाषामा “अथें अथें” कविता वाचन गर्दै नेवा संस्कृतिको आत्मीय सौन्दर्य प्रस्तुत गरिन्।

वरिष्ठ कवि स्नेह सायमी ले नेपाल भाषामा “आश याय्” कविता प्रस्तुत गर्दै त्यसको नेपाली रूपान्तरण “आशा गरौं” मार्फत समकालीन राजनीतिक अवस्थामाथि धारिलो व्यङ्ग्य गरे। लक्ष्मी माली ले “व दुकाय त्योम्हः मखु” कविता नेपाल भाषा र नेपाली अनुवादसहित प्रस्तुत गर्दै मातृभाषाको सांस्कृतिक मिठासलाई प्रभावकारी रूपमा अभिव्यक्त गरिन्। रमी प्रिया को “सिन्हाज्या म्ये” ले उपत्यकाको जमिनमाथि भइरहेको अतिक्रमणप्रति गहिरो चिन्ता व्यक्त गर्‍यो। प्रोल्लास सिन्धुलीय को “शहरको वृद्धालय” ले वृद्धावस्था र आधुनिक शहरी एक्लोपनको मर्मस्पर्शी चित्र उतार्‍यो भने प्रमोद स्नेही को “हातमा मलुवा” ले वर्तमान समाजको कठोर यथार्थलाई तीखो ढंगले प्रस्तुत गर्‍यो।

सुरेश गाउँले ले “मुकुण्डो” कविता वाचन गरे। सुनिता खनाल को “पातमा प्रेम” कोमल प्रेमभावले भरिएको थियो भने केवल बिनाबी को “जिन्दगीले पिएका जिन्दगीहरू” ले संघर्ष र समयले थिचिएका जीवनहरूको कठोर यथार्थलाई प्रभावकारी ढंगले उजागर गर्‍यो।

कार्यक्रमको सञ्चालन रातोघर फाउन्डेसनकी महासचिव अनिता लामा ले आत्मीय र सजीव शैलीमा गरेकी थिइन्। कार्यक्रमको अन्त्यमा वरिष्ठ कवि स्नेह सायमी ले प्रतिरोध र प्रतिपक्षको चेतनालाई जीवित राख्न यस्ता साहित्यिक गोष्ठी आवश्यक रहेको धारणा व्यक्त गर्दै साहित्यिक ऊर्जाको निरन्तरतामाथि जोड दिए। साथै उनले सुरेश किरण मानन्धरले मातृभाषाको संरक्षण र प्रवर्द्धनमा पुर्‍याएको योगदानको भावपूर्ण स्मरण गरे। विविध मातृभाषाका स्वर, लय, स्मृति र संवेदनाले भरिएको उक्त कविता गोष्ठीले भाषा केवल बोलिने माध्यम मात्र होइन, समुदायको आत्मा, इतिहास र भविष्यको उज्यालो पनि हो भन्ने अनुभूति उपस्थित सबैमा गहिरोसँग छोड्न सफल भएको थियो।

Facebook Comments Box

Similar Posts