“सामाजिक र राजनीतिक जस्तो साहित्यमा विभेद हुनुहुदैन ।” – मोहन दुवाल

७ चैत्र, काठमाडौं । विश्व कविता दिवसका अवसरमा बालसिर्जना मञ्च नेपालले “बहुभाषिक कवि गोष्ठी एवम् रचना वाचन कार्यक्रम” आयोजना गरेको छ । काठमाडौं स्थिति दरबार हाइस्कुलको सभा हलमा आयोजित उक्त कार्यक्रममा देशका विभिन्न स्थानबाट सहभागी सर्जकहरुले नेपाली तथा मातृभाषामा आफ्ना कविता वाचन गरेका थिए ।

जनमत वाङमय प्रतिष्ठानका अध्यक्ष मोहन दुवालको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा दुवालले नेपालमा बोलिने सबै मातृभाषाको संरक्षण र प्रवर्द्धन गरिनुपर्ने कुरामा जोड दिनुभयो । “यहाँ समाजमा विभेद, राजनीतिमा विभेद हुने गरेको छ । तर त्यस्तो विभेद साहित्यमा हुनुहुदैन ।” उहाँले थप्नुभयो । अन्य अतिथिहरुमा डा. बमबहादुर थापा जिताली, पुरुषोत्तम सिग्देल, हरिप्रसाद खनाल, छायाँदत्त न्यौपानेको उपस्थित रहेको थियो ।

कविता वाचनतर्फ डा. जितालीले ‘राष्ट्रिय पहिचान’ शीर्षकको कविता प्रस्तुत गर्नुभएको थियो भने सुशिला प्रधानाङ्लेग नेपाल भाषाको कविता सुनाउनुभएको थियो । सिन्धुपाल्चोकका सर्जक नेत्र तामाङले आफ्नो मातृभाषामा कविता वाचन गरेका थिए भने आनन्द गुप्ताले भोजपुरी भाषामा कविता वाचन गरेका थिए । अर्का सर्जक बालकृष्ण श्रेष्ठले दोलखाली भाषामा कविता सुनाएका थिए भने जिवी नेपालीले दर्जी भाषामा कविता सुनाएका थिए । श्याम राई, पुरुषोत्तम सिग्देलले क्रमशः राई , नेपाल र संस्कृत भाषामा कविता प्रस्तुत गरेका थिए । कार्यक्रममा संविद ढकाल, जुनु घिमिरे, आर. मानन्धर, डिल्लीराम ढकाल, उषा केसी, विष्णु थापा, अंशु दुलाल, मन्सु नकर्मी, कविता रोकायालगायतले समेत कविता सुनाएका थिए । कार्यक्रममा २५ जिल्लाका स्रष्टाले ११ ओटा मातृभाषामा कविता सुनाएका थिए ।

बालसिर्जना मञ्च नेपालका अध्यक्ष डा. सिता सुवेदी पन्थीको अध्यक्षता, गोपीकृष्ण ढुङ्गानाको स्वागत भाषणमा सम्पन्न कार्यक्रमको सञ्चालन जितेन्द्र रसिकले गरेका थिए । कार्यक्रममा कविता वाचन गर्ने सर्जकहरुलाई सम्मानपत्रसमेत प्रदान गरिएको थियो ।

 

Facebook Comments Box

Similar Posts