असोज ७, ललितपुर — साझा प्रकाशनले आइतबारबाट विशेष पुस्तक प्रदर्शनी सुरू गरेको छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले प्रदर्शनीको उद्घाटन गरे । महानगर प्रमुख महर्जनले साहित्यप्रति आफ्नो लगाव रहेको बताउँदै रुचि भएको पुस्तक अध्ययन गर्दा छोड्न नसक्ने र आफूभित्र रहेको पाठकलाई मेयर पदले डिस्टर्व गरिरहेको उल्लेख गरे ।

‘मेयर भएपछि बिहानै उठनुपर्छ,’ प्रमुख महर्जनले भने, ‘बेलुका छोड्न मन लागेको पुस्तक लामो समयसँग पढ्न भ्याउँदिनँ । मेयर पदले पाठकलाई डिस्टर्ब गरेको छ ।’

उनले सत्यमोहन जोशीजस्ता स्रष्टाको सम्मानमा काम गर्दै आएको बताउँदै १ सय १९ वर्षे साझा प्रकाशनसँग १ सय ५ वर्षको ललितपुर महानगरपालिकाले सम्झौता गरेर सहकार्य अघि बढाउने जानकारी दिए ।

प्रदर्शनी साझा प्रकाशनको केन्द्रीय कार्यालय पुल्चोक, ललितपुर एवं विर्तामोड, धरान, विराटनगर, राजविराज, जनकपुर, भरतपुर, पोखरा, नुवाकोट, बुटवल, दाङ र प्रदर्शनीमार्गमा रहेको बिक्रीकक्षहरुमा असोज ७ देखि २२ गतेसम्म रहने निमित्त महाप्रबन्धक भेषराज घिमिरेद्वारा जारी विज्ञप्तिमा छ ।

प्रदर्शनीस्थलमा ४.२५ रुपैयाँ मूल्यदेखि २८ सयसम्मका पुस्तक छन् । टेकबहादुर खत्रीको पञ्चायत आजको मूल्य रु ४.२५, पं. ऋषभदेव शास्त्रीको व्याकरणको दन्त्यकथा रु ६५० छ भने प्रा. नीलमणि ढुंगानाको व्युत्पतिमूलक संस्कृत- नेपाली शब्दकोशको मूल्य २८ सय रुपैयाँ छ ।

प्रदर्शनीमा साझा प्रकाशनबाट भर्खरै प्रकाशित परमानन्दगीता, अणिमा, मनको बह, मनको बिम्बबाट आसन ग्रहण, खोजी, मिसन यात्रा, धर्मदर्शन, जीवन दर्शन, नक्साको जून, कुमुदाग्नि, नेपाली उपन्यासमा आञ्चलिकः सिद्धान्त, परम्परा र प्रवृत्ति, परेवा र बाज, म गाउँ फर्कन्छु राखिएका छन् । यसका साथै नेपाली भाषा प्रकाशिनी समितिबाट प्रकाशित श्रीमद्भागवत महापुराणको नवीन संस्करण, वेदपुराणका रत्नहरुलगायत ५ सय विभिन्न शीर्षकका कृति राखिएका छन् ।

Facebook Comments Box

Similar Posts