असार २१, काठमाडौँ । सुरभि साहित्य प्रतिष्ठानको १७४ औँ आख्यान वाचन शृङ्खलामा सुरभि–मुना–पुष्कर चालिसे छन्दकविता पुरस्कार अर्पण र विशेष कवितावाचन भएको थियो । प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको सभापतित्व र गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख दीपककुमार रिसालको प्रमुख आतिथ्य रहेको यो कार्यक्रममा गो.न.पा. वडा नं. ८ का वडाध्यक्ष नन्दलाल श्रेष्ठ र प्रतिष्ठानका संरक्षक गोविन्द घिमिरे वेदमणि विशिष्ट अतिथि हुनुहुन्थ्यो । त्यस्तै अन्य अतिथिहरूमा सुरभि–मुना–पुष्कर चालिसे छन्दकविता पुरस्कारका संस्थापक मुना चालिसे तथा पुष्कर चालिसे, भवानी पौडेल स्मृति प्रतिष्ठान, भद्रवासका अध्यक्ष वासुदेव पौडेल, शिक्षा सेवी उद्धव रायमाझी र विनोद चापागाईं रहनुभएको थियो ।दिउँसो ११:३० बजेबाट सुरु भएको यो कार्यक्रममा विशेष कविता वाचन, पुरस्कार अर्पण र प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको खण्डकाव्य सुनटिकी लोकार्पण भएको थियो । पुस्तक लोकार्पणपछि प्रमुख अतिथि दीपककुमार रिसालले यस गोकर्णेश्वर नगरपालिका क्षेत्रलाई साहित्यिक नगर बनाउन सुरभि साहित्य प्रतिष्ठान र अभिनव साहित्य समाजले धेरै ठुलो भूमिका खेलेको कुरा बताउनुभयो । यसका लागि नगरपालिकाले पनि अन्तरविद्यालय साहित्यिक प्रतियोगिता गराई भावी साहित्यिक प्रतिभा तयार पार्न पहल गर्ने कुरा बताउनुभयो । साथै पुरस्कार संस्थापक चालिसे पतिपत्नीलाई बधाई पनि दिनुभयो । विशिष्ट अतिथि नन्दलाल श्रेष्ठले साहित्यलाई सबैले माथि उठाउनुपर्छ । यस्ता कर्ममा लाग्नुभएका सबैलाई बधाई तथा शुभकामना दिँदै यस नगरपालिका र वडा कार्यालयले प्रतिष्ठानलाई सकेसम्म सहयोग गर्ने वचन पनि दिनुभयो ।त्यस्तै अर्का विशिष्ट अतिथि गोविन्द घिमिरे वेदमणिले असार महिना भानुभक्तको जन्म महिना परेको हुँदा प्रतिष्ठानले गरेको विशेष कविता वाचन र छन्द कवितामा पुरस्कार अर्पण गर्नु मनासिव रहेको बताउँदै भानुभक्तको बारेमा पनि बोल्नुभयो । पुरस्कार संस्थापक पुष्कर चालिसेले आफ्नो वैवाहिक वर्षगाँठमा खर्च गर्नुको साटो यसरी छन्दकविता पुरस्कारका लागि अक्षयकोष स्थापना गर्नु राम्रो हुने घरपरिवारको सल्लाह भएकाले यो पुरस्कारका लागि अक्षयकोष राखिएको कुरा बताउनुभयो ।कार्यक्रममा पहिले विशेष कविता वाचन, पुरस्कार अर्पण, पुस्तक लोकार्पण भएपछि मन्तव्य र नियमित आख्यान वाचन भएको थियो । प्रतिष्ठानकी सहसचिव मेनका पोखरेल आचार्यको स्वागत मन्तव्य र कविता वाचनबाट सुरु भएको विशेष कविता वाचनमा घनश्याम प्रसाईं, रञ्जु खनाल, शारदा पराजुली, बाजुराम पौडेल, वासुदेव पौडेल, परशुराम पराशर, दिवाकर न्यौपानेले कविता तथा गजल वाचन गर्नुभएको थियो । नियमित आख्यान वाचनमा मधुसूदनप्रसाद घिमिरे, ऋचा, सुशील आचार्य, आलोक चालिसेले विजय चालिसेको पछिल्लो लघुकथा, शारदा पराजुली, दिवाकर न्यौपाने, रञ्जु खनालले कथा तथा लघुकथा वाचन गर्नुभएको थियो ।प्रतिष्ठानका उपाध्यक्ष परशुराम पराशरले सञ्चालन गर्नुभएको यो कार्यक्रम असार महिनाको भएकाले दहीचिउरा खाजा खाइएको थियो ।

Facebook Comments Box

Similar Posts