साउन १६, काठमाडौँ । कवि तथा गीतकार सागर फुयालको दोस्रो कृति कविता तथा गीतहरुको संग्रह “आफैलाई खोज्न मन छ” सार्वजनिक भएको छ । नेपाल श्रष्टा समाजका अध्यक्ष तथा साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’को सभापतित्वमा सम्पन्न कृति सार्वजनिक विशेष कार्यक्रममा साहित्यकार श्रेष्ठ, अभिव्यक्ति पत्रिकाका संस्थापक संरक्षण नगेन्द्रराज शर्मा, रचना साहित्यिक पत्रिकाका प्रधान सम्पादक रोचक घिमिरे र गायक तथा संगीतकार शिव परियारले संयुक्त रूप कृति लोकार्पण गर्नुभएको थियो ।

राजधानीको अनामनगर स्थित निम्तो रेस्टुरेन्टमा सम्पन्न कार्यक्रममा ‘शब्दपथ’ का प्रधान सम्पादक एवं साहित्यकार किशोर पहाडीले कृति माथि संक्षिप्त टिप्पणी राख्ने क्रममा फुयालका सिर्जनाहरु उत्कृष्ट रहेको बताउदै लेखकलाई आगामी दिनमा नयाँ बिषयहरुमा समेत कलम चलाउन सुझाव दिनुभयो । शब्दाङकुर साहित्यिक प्रधान मासिकका प्रधान सम्पादक तथा साहित्यकार धीरकुमार श्रेष्ठले सार्वजनिक कृति माथि संक्षिप्त समिक्षात्मक धारणा राख्नका साथै फुयालबाट नेपाली साहित्य जगतले थप उत्कृष्ट कृति प्राप्त गर्न सकोस भन्दै शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रमका अर्का वक्ता साहित्यकार नगेन्द्रराज शर्माले नयाँ पुस्ताका सर्जकहरु पुराना भन्दा उत्कृष्ट भएर आउनुपर्ने धारणा राख्नुभयो । उहाँले फुयाललाई संख्यात्मक रुपमा धेरै मात्र नभई राम्रो सिर्जनामा जोड दिन समेत सुझाव दिनुभयो । कार्यक्रममा साहित्यकारहरु रोचक घिमिरे, राधेश्याम लेकाली, पवन आलोक, साथै गायक तथा संगीतकार शिव परियारले शुभकामना मन्तव्य राखेका थिए ।

सार्वजनिक संग्रहमा फुयालका ४० कविता र ४० गीतहरु समावेश छन । संग्रहलाई नेपाल श्रष्टा समाजले प्रकाशन गरेको हो । फुयालका “अँजुलीमा थाप्न पाए” कविता संग्रह यस अघि नै प्रकाशित भइसकेको छ ।

Facebook Comments Box

Similar Posts