असोज २३, काठमाडौँ । लेखक एवं स्वतन्त्र वामपन्थी नरेन्द्रजंग पिटरको संस्मरण–किताब ‘बकपत्र : जीवन दर्शन र संघर्ष’ सार्वजनिक भएको छ । सोमबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा किताब सार्वजनिक गरिएको हो ।
किताबमा आत्मकथात्मक शैलीमा पिटरले आफ्नो जीवनका अनेक आरोहअवरोह लेखेका छन् ।
कार्यक्रममा आख्यानकार नयनराज पाण्डेले लेखक नरेन्द्रजंग पिटर राजनीतिका एक निष्ठावान् पात्र भएको बताए । ‘यो किताब निष्ठावान व्यक्तिको बकपत्र हो । समाजमा इमानदार मान्छे अत्यन्तै कम पाइन्छ । अहिले कस्ता मान्छे सत्तामा पुगेका छन् भन्ने विषय लेखक पिटरको जीवनशैलीले पनि देखाएको छ,’ किताबमाथि बोल्दै पाण्डेले भने, ‘यदि पिटरले चाहेको भए अहिले हामी उनलाई सत्ताका माथिल्लो तहमा देख्न सक्थ्यौं र आर्थिक रुपमा पनि उनी समृद्ध हुन्थे ।’
‘युद्धमा लागेर पनि पिटरले युद्धका नकारात्मक पक्षलाई संक्षेपमा उतारेका छन्,’ समीक्षक विन्दु शर्माले भनिन्, ‘अत्यन्तै सरल भाषामा आफूले देखे–भोगेका जिन्दगीका पुराना/नयाँ तस्बिर किताबमा लेखेका छन् पिटरले ।’
पूर्वप्रशासक शारदाप्रसाद त्रितालले लेखक नरेन्द्रजंगको किताब एक बुद्धिजीवको इमानदार आत्मकथात्मक बकपत्र भएको बताए । ‘पूरै किताब पढिरहँदा यो एक कम्युनिष्टले लेखेको गैरआख्यानजस्तो लाग्दैन’, त्रितालले भने, ‘कम्युनिष्टभित्रका विकृतिको व्यापक आलोचना उनका किताबमा छन् ।’
जीवन स्वयं एउटा महाआख्यान भएको बताए लेखक पिटरले । ‘र, प्रत्येकको जीवन विश्वविद्यालय हो’, जिन्दगीलाई धन्यवाद दिँदै लेखक पिटरले भने, ‘यो किताब मेरो जीवनको एक बकपत्र हो । मलाई ठक्करको दर्शन सिकाएकोमा धन्यवाद जिन्दगी । दर्गुन नसके पनि हिँड्न त सिकाइस् तैंले ।’
इन्डिगो इन्कले प्रकाशन गरेको किताबको मूल्य ६४९ रुपैयाँ छ ।