असोज १५,  काठमाडौं । साहित्यकार सृजन लम्सालको लघुकथा संग्रह ‘धरतीका यमराज’ एक समारोहका बीच सार्वजनिक गरिएको छ । १० विभिन्न कृति प्रकाशित गरिसकेका लम्सालको यो ११औँ कृति हो ।

सोमबार काठमाडौंमा स्वदेश प्रकाशनद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथि साहित्यिक पत्रकार रोचक घिमिरेलगायतले उक्त कृति लोकार्पण गरे । घिमिरेले साहित्यमा दीर्घ साधना आवश्यक रहेको भन्दै लामो समयदेखि लम्सालले सिर्जना गर्दै आएको बताए ।

समालोचक प्रा.डा. लक्ष्मणप्रसाद गौतमले लम्सालको यस कृतिमा मृत्यूबोधको चिन्तन पाइने उल्लेख गर्दै कृतिका कतिपय लघुकथा छोटाकथाको रूपमा आएको टिप्पणी गरे । लम्सालको लेखनी सुन्दर भए पनि लघुकथामा पाइने झट्का कतिपय कथामा पुग्न नसकेको उनको भनाइ रह्यो ।

साहित्यकार महेश प्रसाईंले लम्सालको लेखनी परिपक्व रहेको उल्लेख गरे । उनले लघुकथा लेखनको नालीबेलीबारे चर्चा गरे ।

साहित्यकार लम्सालले कृतिको जन्मदाता कोरोना र लकडाउन भएको चर्चा गर्दै आफूले विकृति विसंगतिमाथि प्रहार गरेको बताए । कार्यक्रममा प्रकाशक संस्थाका ऋषिराम पाण्डे, साहित्यकार श्रीओम श्रेष्ठ लगायतले बोलेका थिए ।

Facebook Comments Box

Similar Posts