पुस ९, काठमाडौँ । यस वर्षको ‘डिसहोम बाह्रखरी कथा लेखन प्रतियोगिता’ मा मनोजबाबु पन्तको ‘बूढो लाँकुरीको रूख’ प्रथम स्थान हासिल गर्दै १ लाख रुपियाँ हात पारेको छ । प्रतियोगितामा प्रमोद प्याकुरेलको ‘काँचुली’ दोस्रो र विजय हितानको ‘चेपाङ, चमेरो र चिउरी’ तेस्रो भए ।
काठमाडौंमा आइतबार आयोजित कार्यक्रममा प्रमुख अतिथि पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले प्रथम, द्वितीय र तृतीय कथाकारलाई क्रमशः १ लाख, ६० हजार र ४० हजार नगद पुरस्कार, प्रमाणपत्र तथा ट्रफी प्रदान गरे । कार्यक्रमका अवसरमा पूर्वप्रधानन्यायाधीश श्रेष्ठले ‘बाह्रखरी उत्कृष्ट कथा–२०८०’ कथाकृतिको समेत लोकार्पण गरे ।
कथासंग्रहमा नेपालसहित विश्वका विभिन्न मुलुकबाट प्रेषित ८ सय ४३ मध्येबाट छनोट गरिएका उत्कृष्ट २५ कथा छन् । त्यसका साथै चार आख्यानकर्मी भागीरथी श्रेष्ठ, भाउपन्थी, डा. राजेन्द्र विमल र गणेश रसिकका कथा पनि समाविष्ट छन् ।बाह्रखरी कथा लेखन प्रतियोगिता–२०८० मा उत्कृष्ट २५ कथाकारमा अनिता पन्थी, उमा शर्मा, जेएन दाहाल, डिल्लीरमण पौडेल, तैँ तैँ धिताल, त्रिभुवनचन्द्र वाग्ले, दिनमान गुर्मछान, दिव्य गिरी, दीपक लोहनी, प्रमोद प्याकुरेल, मनोजबाबु पन्त, महेश चौलागाईं, रबर्ट जोशी, रमा सुवेदी, रमेशजंग थापा, राजेन्द्र अधिकारी, राजेश सुवेदी, विक्रम नेपाल, विजय हितान, वसन्तबायुङ राई, शंकर धिताल, श्रीधर खनाल, सञ्जय घिमिरे, सोमनाथ दाहाल र हिरा लामा छन् ।