जेठ १८, काठमाडौं । कवि श्याम रिमालद्वारा  लिखित कविता संग्रह “चमेरो: कोरोना कविता संग्रह” सार्वजनिक भएको छ । साहित्यकार गोपाल प्रसाद रिमालको १०७ औँ जन्मजयन्ती तथा कविता गोष्ठीका अवसरमा रिमालको कविता संग्रह सार्वजिक भएको हो ।

तीन वर्षअघि कोरोना महामारीको समयलाई समेटेर दस्तावेजका रुपमा  प्रकाशनमा ल्याइएको रिमालको कविता  सङ्ग्रहमा २९ वटा कविता सङ्गृहीत छन् ।

कार्यक्रममा कवि दीपेन्द्र अधिकारीले रिमालको कविता सङ्ग्रहमाथि समीक्षा गर्नुभएको थियो । रिमालका कविता कुनै छन्द, विम्ब र प्रतीकमा नबाँधिएर सामान्य जनजीवनमा आउने भावनाको सरल सिर्जना हुने भएको उहाँले बताउनुभयो । पढ्दा र बुझ्दा रमाइला कविता भएपनि आगामी कृतिहरु केही काव्यात्मक संरचनामा बाँधिनुपर्ने सुझाव उहाँले दिनुभयो । त्यसैगरी रिमाल समाजका महासचिव रवि रिमालले नेपाली भाषा साहित्य पछिल्लो समय सङ्कटमा पर्न थालेको बताउँदै यस्ता कृतिले साहित्य जोगाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

कार्यक्रमका आयोजक श्रृङ्खला साप्ताहिक मासिक पत्रिकाका प्रकाशक एवं संस्थापक सम्पादक प्रवीण जोशी, पत्रिकाका सहयोगी सम्पादक शिव श्रेष्ठ र काठमाण्डू उपत्यका सार्वजनिक पुस्तकालयका व्यवस्थापक लिलाप्रसाद भट्टराईले रिमालको कृतिको प्रशंसा गर्नुभएको थियो । 

राष्ट्रिय समाचार समिति (रासस) का नायब महाप्रबन्धकसमेत रहनुभएका रिमालको यस अघि एउटा काँढा बिझ्दा (गीत सङ्ग्रह), त्रिशूलीको किनाराबाट, बारपाक र नदी बग्दैन (तीनवटा कविता सङ्ग्रह) कृति प्रकाशित छन् ।

Facebook Comments Box

Similar Posts