साउन २६, काठमाडौं ।  साहित्यकार मनु योङहाङद्वारा लिखित ‘थोक्फेला’ उपन्यास सार्वजनिक भएको छ । कोटेश्वर स्थित आकाशे पुल गेस्ट हाउसमा आयोजित सार्वजनिक कार्यक्रमका प्रमुख आतिथ्य योङहाङ समाजका अग्रज तथा राजनीतिकर्मी जसबहादुर  योङहाङले गर्नु भएको थियो ।

कार्यक्रमका प्रमुख वक्ता रंगवादी साहित्यकार धर्मेन्द्रबिक्रम नेम्बाङले सार्वजनिक कृतिमा माथि आफ्नो धारणा राख्नु हुदै  साहित्यकार योङहाङले  ‘थोक्फेला’ अर्थात् ‘गुराँसको फूल’ उपन्यास मार्फत सिंगो राष्ट्रलाई नै एउटा बिम्बको रुपमा प्रस्तुत गर्न खोजेको बताउनु भयो । साहित्य जीवन सम्बन्द्ध बिषय भएकाले यो मानव समाज विकासको लामो शृंखला बीच पनि बाँचेको छ र यो बाँचिरहन्छ, उहाँले थप्नु भयो । उहाँले योङहाङको उपन्यासले नेपाली समाजमा मुखरित बन्दै गएको पहिचानको बिषयलाई विभिन्न पात्र र घटना मार्फत उपन्यासकृत गर्ने कोशिस गरेको  बताउदै उपन्यासमा उल्लेख भएका स्थान र घटनाहरुलाई ऐतिहासिकताको कसीमा प्रमाणित गर्न सके कृति  नेपाली इतिहासको एक कोशेढुंगा साबित हुने बताउनु भयो ।  योङहाङको उपन्यासलाई एउटा ऐतिहासिक उपन्यासको कोटीमा राख्न सकिन्छ,  नेम्बाङले दाबी गर्नुभयो ।

कार्यक्रमका अर्का वक्ता प्रा. डा. विष्णु राईले योङहाङको उपन्यासमा प्राचीन किरात सभ्यताको बिषयलाई आफ्नो आख्यान लेखन मार्फत उठान गर्न खोजिएको बताउदै  कृतिलाई इतिहास, पहिचान र साहित्य तीनवटा आयाममा राखेर हेरिनु उपयुक्त हुने बताउनु भयो । योङहाङले आफ्नो कृतिमा यथार्परक घटनाहरुलाई सुन्दर साहित्य शिल्प प्रयोग गरि तयार गर्नुभएको छ,  उहाँले बताउनु भयो । ऐतिहासिक जिम्मेवारबोध र बौद्धिक प्रस्तुति क्षमता उपन्यासको सबल पक्ष रहेको समेत उहाँले थप्नुभयो ।

कार्यक्रमका अर्का वक्ता शंकर तिवारीले सार्वजनिक कृति माथि समीक्षात्मक गर्दै उपन्यास पहिचानको राजनीति इतरका नेतृत्वले देशको बागडोर समाल्दै  गर्दा आएको चर्चा गर्दै राजनीतिक आवाज कमजोर हुदै गर्दा त्यसलाई साहित्य कर्मले जीवन्तता दिन सक्ने बताउनु भयो । योङहाङले  आफ्नो कृति मार्फत सिंगो किरात इतिहासको विरासतलाई बलियो गरि उजागर गर्ने प्रयास गर्नु भएको छ, उहाँले थप्नुभयो । उहाँले कुनै पनि साहित्य तत्कालिन  समय र समाजको सिर्जनशील उत्पादन हुने भएकाले  योङहाङको कृतिलाई त्यहि रुपमा हेर्दा बढी सान्दर्भिक हुने बताउनु भयो ।

कार्यक्रमका अर्का वक्ता सिनेकर्मी तथा सामाजिक अभियन्ता मित्र लिङदेनले साहित्यमा सबै समुदाय र क्षेत्रको आवाजहरु मुखरित हुनुपर्छ भन्ने कुरामा जोड दिनुभयो । नेपाली समाजको सिमान्तकृत आवाजहरुलाई साहित्यको मुलधार ल्याउन सके नेपाली साहित्य झनै सबल र सम्बृद्ध हुने उहाँले बताउनु भयो ।

योङहाङ समाज काठमाडौंले आयोजना गरेको उक्त सार्वजनिक कार्यक्रममा बुद्धिजीवी, लेखक, साहित्यकार लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

पेशाले शिक्षण क्षेत्रमा संलग्न साहित्यकार  योङहाङ पछिल्लो समय साहित्यिक लेखनका अतिरिक्त इतिहास र संस्कृतिको खोज अनुसन्धानमा समेत क्रियाशील हुनुहुन्छ । योङहाङका यस अघि नै तीनवटा कृति प्रकाशित भइसकेका छन् । सार्वजनिक कृति ‘थोक्फेला’लाई रिता थाम्सुहाङले प्रकाशनमा ल्याउनु भएको हो ।

Facebook Comments Box

Similar Posts