२०७८ जेठ २८ । काठमाडौँ । साइनोकार खेमलाल पोखरलेको ‘साइनो कविता’ सङ्ग्रह विमोचन भएको छ । साइनो वाङ्मय प्रतिष्ठानको आयोजनामा प्रतिष्ठानका सल्लाहकार छायादत्त न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति एवम् कार्यक्रमका प्रमुख अतिथि गङ्गाप्रसाद उप्रेतीबाट कृतिको विमोचन भएको हो । सो अवसरमा समालोचक एवम् साइनोकार शेखरकुमार श्रेष्ठले सहभागी सबैलाई स्वागत गरे भने कार्यक्रमको सञ्चालन शेखर अर्यालले गरेका थिए । कृतिसमीक्षा भने प्रज्ञाप्रतिष्ठानका प्राज्ञ सदस्य डा. देवी नेपाल, प्रा.डा. रामप्रसाद ज्ञवाली, प्रज्ञाप्रतिष्ठानका पूर्व सदस्य सचिव तुलसी भट्टराईले गरेका थिए । कविताकै उपविधाका रुपमा नेपाली भूमिबाट मौलिक रुपमा विकास भएको साइनो नेपालीलगायत अङ्ग्रेजी, मलेसियन आदि भाषामा लेखिन थालेको जानकारी कार्यक्रममा दिइयो । छोटो समयमा तीव्र गतिमा विकास भएको साइनो लेखनलाई थुप्रै साइनोकारले यसमा रूचि देखाएको पाइयो । पहिलो पङ्क्तिमा ७, दोस्रो पङ्क्तिमा ८ र तेस्रो पङ्क्तिमा ९ शब्द रहने साइनोको लेखनलाई सैद्धान्तिकीकरण गर्ने क्रम जारी छ । कार्यक्रममा केही साइनो वाचन गरेर पनि सुनाइएको थियो ।

Facebook Comments Box

Similar Posts