मङ्सिर २९, काठमाडौं । योगी नरहरिनाथ अभिनन्दन ग्रन्थ लोकार्पण कार्यक्रम सम्पन्न भएको छ । १००८ अनन्त श्री विभुषित महामण्डलेश्वोर गलेश्वोरपिठाधिस स्वामी आत्मनन्द गिरि महाराजको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा योगी नरहरिनाथको व्यक्तित्व तथा योगदानको चर्चा गर्नका साथै उनी प्रति समर्पित कृति विमोचन भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गिरी महाराजले योगीको व्यक्तित्वको बारेमा प्रकाश पार्नका साथै उहाँले राष्ट्र र धर्मका बारेमा गर्नु भएको योगदानको मुक्त कण्ठले प्रशंसा गर्नुभएको थियो । कार्यक्रमका अर्का वक्ता ढकाल राधेश्यामले ग्रन्थ माथि समीक्षात्मक धारणा राख्नुभएको थियो । कार्यक्रमका अन्त्य वक्ताहरुले योगीको विशिष्ट योगदानको उचित सम्मान हुनुपर्नेमा जोड दिदै उहाँलाई राष्ट्रिय विभूति घोषणा गर्न समेत माग गर्नु राखेका थिए । कार्यक्रममा डा . गोबिन्द टन्डनको स्वागत मन्तव्य राख्नु भएको थियो ।
सिद्ध धर्म सङ्घको आयोजनामा राजधानीको बत्तिसपुतली स्थित अनुपम फुडल्याण्डमा सम्पन्न लोकार्पण कार्यक्रमका विशेष अतिथी डा. चिन्तामणि योगी रहनु भएको थियो भने उक्त कार्यक्रममा माननीय किरण कुमार शाह, साहित्यकार रमा शर्मा , भ्रष्टाचार उन्मुलन अभियान अभियन्ता भरत जङ्गम, योग प्रबर्द्धक महात्मा सुशील पाशुपत लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।